कलैया,बाराबाट प्रहरीले ३५ किलोग्राम लागुऔषध चरेससहित दुईजना भारतीय नागरिकलाई पक्राउ गरेको छ ।
चितवनबाट भारततर्फ लैजाँदै गरेको अवस्थामा चरेससहित २ जनालाई बाराको अम्लेखगञ्जबाट प्रहरीले पक्राउ गरेको हो ।
इलाका प्रहरी कार्यालय सिमरा र अम्लेखगञ्जबाट खटिएको प्रहरीले लागुऔषध चरेससहित दुईजनालाई पक्राउ गरेको प्रहरीले जनाएको छ ।

३२ एनएम नम्बर प्लेटको भारतीय कारलाई प्रहरीले शंका लागेर जाँच गरेको थियो । सोही क्रममा कारको पछाडि डिक्कीमा फल्स बटम बनाई लुकाई छिपाई राखेको अवस्थामा लागुऔषध चरेस बरामद गरेको इलाका प्रहरी कार्यालय सिमराका प्रमुख प्रदिपबहादुर क्षेत्रीले जनाउनुभयो । खैरो टेपले प्याकिङ गरी ६७ वटा प्याकेटमा राखिएको चरेस बरामद गरेको फेला परेको उहाँले बताउनुभयो ।पक्राउ पर्नेहरुमा भारतको उत्तर प्रदेशस्थित बैहराइच, थाना देहात कोतावाली नाजिरापुरन नई बस्नी बस्ने साफिर अलि र कारमा सवार सोही ठाँउका मोहम्मद अफजाल रहेका छन् ।
उनीहरुको साथबाट ३५ किलो लागुऔषध चरेस, सिम सहितको २ थान मोबाइल, भन्सार सम्बन्धी कागजपत्र र कार समेत बरामद गरेको प्रहरीले बताएको छ ।पक्राउ परेका उनीहरुमाथि लागुऔषध नियन्त्रण ऐन २०३३ अन्तर्गत म्याद थप गरेर अनुसन्धान तथा कारबाहीअगाडि बढाइने प्रहरीले जानकारी दिएको छ ।

Leave a Reply