वीरगञ्ज,उच्च अदालत जनकपुर, अस्थायी इजलास वीरगञ्जले नेपाली काँग्रेसका नेता तथा पूर्वसांसद आफताब आलमलाई सफाइ दिन गरेको फैसला विरुद्ध महान्यायाधिवक्ता कार्यालयले सर्वोच्च अदालतमा पुनरावेदन गर्ने निर्णय गरेको छ ।सहन्यायाधिवक्ता सूर्यराज दाहालका अनुसार, उच्च अदालतको फैसला उल्टाउन पुनरावेदनको तयारी भइरहेको र यसका लागि मिसिल तयार पारेर गत साता नै रायसहितको प्रतिवेदन पठाइसकिएको छ । उहाँले शुक्रवार वा आइतवारसम्म पुनरावेदन दर्ता गरिने बताउनुभयो ।
२०६४ चैत २७ गते संविधानसभा निर्वाचनको अघिल्लो दिन रौतहटको राजपुरफरदहवामा भएको बम विस्फोटमा घाइते भएकाहरूलाई उपचार नगरी प्रमाण नष्ट गर्न जीवितै इट्टा भट्टामा जलाएको गम्भीर अभियोग आलमसहित अन्य प्रतिवादीमाथि मुद्दा परेको थियो । आलमलाई प्रहरीले २०७६ मा पक्राउ गरेको थियो ।जिल्ला अदालत रौतहटले २०८१ वैशाख १३ गते आलमसहित चार जनालाई जन्मकैदको सजाय सुनाएको थियो । तर, उच्च अदालतले जिल्ला अदालतको फैसलालाई उल्टाउँदै सबै प्रतिवादीलाई सफाइ दिएको हो ।
उच्च अदालतको उक्त फैसलाले विवादमा परेपछि फैसला गर्ने न्यायाधीशद्वय श्रीकान्त पौडेल थारु र रमेशप्रसाद महर्जनविरुद्ध न्याय परिषदमा उजुरी परेको छ । घटनामा मारिएका त्रिलोक प्रताप सिंह (पिन्टु) का बुबा श्रीनारायण सिंहले न्यायाधीशहरूले अन्यायपूर्ण फैसला गरेको भन्दै कारबाहीको माग गरेका छन् । उजुरीमा घटना नै नभएको भनी गरिएको फैसला पीडित परिवारका लागि अस्वीकार्य रहेको उल्लेख छ ।न्याय परिषद्ले उजुरीको विषयमा गम्भीर छानबिन सुरु गरेको छ । सर्वोच्च अदालतका न्यायाधीश विनोद शर्माको नेतृत्वमा एक सदस्यीय छानबिन समिति गठन भएको छ भने न्यायाधीश थारु र महर्जनलाई काजमा सर्वोच्च अदालतमा तानिएको छ ।सामाजिक सञ्जाल र संचारमाध्यमहरुमा फैसलालाई लिएर विभिन्न प्रतिक्रिया आएका छन् । कतिपयले उच्च अदालतको फैसलालाई पीडित परिवारमाथिको अन्याय ठानेका छन् भने कतिपयले आलममाथिको अभियोगमा पर्याप्त प्रमाण नभएको तर्क गरेका छन् ।



















