नेपालीहरुले निकै हर्षोउल्लासका साथ मनाउने विजया दशमी (दशैं) पर्व यस वर्ष शुरु भइसकेको छ ।
दशैं नेपालीहरुको घर आँगनमा भित्रिएको पनि करिब एक हप्ता हुनै लागेको छ । नवरात्र शुरु भएपछि आफ्नो जन्मघर अनि थाकथलो छाडेर बाहिर गएकाहरु दशैं मनाउनका लागि घर फर्कने गर्दछन् । घर फर्किनको लागि उनीहरुले सडक यातायातकै प्रयोग गर्ने हो । केहीले त आकाश .(हवाइ जहाज) को पनि प्रयोग गर्लान् नै तर धेरै नेपालीहरुले प्रयोग गर्ने भनेको सडक नै हो । यो समयमा सडकमा अत्याधिक मात्रामा यात्रु र सवारी साधनको पनि उत्तिकै चाप हुन्छ । हुन त अघिल्लो हप्ता आएको विनासकारी वर्षाले कतिपय सडकको अवस्था त बिगारिदिएको छ तैपनि धेरै स्थानको सडक अहिले केही सहज पनि हुँदैछ ।
दशैंको बेलामा सडक खुलाउनु नै पर्दछ यो तीनै तहका सरकारको कर्तव्य हो । सरकारले यो काम गरेको पनि देखिन्छ तर यात्राकै क्रममा नागरिकहरुले कयौं समस्या पनि झेल्न पर्दछ । चर्को भाडा दर लगायतका समस्याहरु यात्रुहरुले संधै चाडवाडका बेलामा झेल्न परेको एउटा ज्वलन्त समस्या हो ।
प्रहरीले यात्रुहरुको सहजताको लागि भनेर देशका प्राय सबै जिल्लामा यात्रु सहायता कक्षहरुस्थापना पनि गरेको छ । तर यसको बाबजुद सवारी भाडा दरमा यात्रुहरु ठगिने क्रम भने रोकिएको छैन । हरेक चाडवाडका बेलामा खुल्ने यस्ता यात्रु सहायता कक्ष यात्रुमैत्री नभएको गुनासो पनि सुनिने गरेको छ । त्यस्तै यात्रुहरुसंग प्रहरीले गर्ने व्यवहार र भूमिकाका विषयमा पनि बेला बेलामा प्रश्न उठ्ने नै गरेको छ । यसपाली यस्तो नहोस् । नागरिकहरुले सहज रुपमा सेवा पाउन्, प्रहरीले संचालन गरेका सहायता कक्षहरु यात्रुमैत्री बनुन् ।















