निजगढ,बोधिश्रवण धर्म संघ बाराले आगामी चैत ७ गते निजगढमा विभिन्न कार्यक्रम गरेर महामैत्री दिवस मनाउने भएको छ ।शान्ति, सहजीवन, सहअस्तित्व, सहवास, सहकार्य तथा वातावरणको रक्षा र मुक्ति मोक्षका निम्ति बोधिमार्ग दर्शन मैत्री धर्मले निजगढको रतनपुरमा महामैत्री दिवस मनाउन लागेको हो ।बोधिश्रवण धर्म संघ बाराले निजगढबाट चैत्र ७ गते सुुरु गरी ८ गते निजगढको रतनपुरमा महामैत्री दिवस कार्यक्रम सम्पन्न गर्ने जनाएको छ । कार्यक्रम अनुसार चैत ७ गते बिहान ११ बजेबाट निजगढको भमरा पूलदेखि तामागढीसम्म महामैत्री शान्ति पद यात्रा, सोही दिन बेलुका ६ बजेबाट विश्व शान्ति महामैत्री पूजा, प्रार्थना, जप, ध्यानबत्ती अर्पणको कार्यक्रम रहने बताइएको छ ।यस्तै ८, ९ र १० गते बिहान ६ बजेबाट बिभिन्न स्थानमा पुनः विश्व शान्ति महामैत्री पूजा, प्रार्थना, जप, ध्यानबत्ती अर्पण गरिने छ भने दिनको १ बजेबाट माआत्मा गुरुहरुबाट धर्म देशना कार्यक्रम, आमन्त्रित पाहुनहरुबाट मन्तव्य र साँझ ७ बजेबाट तपस्वी रामबहादुर बमजनको तपस्यास्थल रतनपुरीमा विश्व शान्ति महामैत्री दीप प्रज्वलन कार्यक्रम गरी मैत्री दिवस मनाउने तयारी गरिएको बोधिश्रवण धर्म संघ बाराका अध्यक्ष राजु साहले जानकारी दिनुभयो ।सत्यलाई कसैले पनि कुनै तरिकाले कुल्चन नसक्ने उल्लेख गर्दै अमर तथ्य बुझेर अमर रहँदै सत्यमार्गमा आउन महामैत्री दिवस मनाउन लागिएको अध्यक्ष साहले बताउनुभयो । उहाँले पवित्र अनुष्ठानमा सबैलाई सहभागी हुन आग्रह समेत गर्नुभयो । तपस्वी भनिएका रामबहादुर बमजनलाई धर्मगुरु बनाउदै उहाँका अनुयाहीहरुले सुरु गरेको बोधिश्रवण धर्म स्थापना भएको १७ वर्ष पुरा भएको अवसरमा महामैत्री दिवस मनाउन लागिएको हो


















