कलैया,
जिल्ला प्रहरी कार्यालय बाराले १४ क्विन्टल अवैध चिनी बरामद गरेको छ । ईलाका प्रहरी कार्यालय सिमरा र प्रहरी चौकी मुसहर्वाबाट खटिएको टोलीले बिलविजकभन्दा बढीको चिनी बरामद गरेको हो ।जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर ७ बकुलिया चोकमा चेकजाँच गर्दा जितपुरबाट बकुलियातर्फ जाँदै गरेको २ वटा मोटरसाइकलबाट ४ सय किलो चिनी बरामद भएको बाराका प्रवक्ता प्रहरी नायब उपरीक्षक दधिराम न्यौपानेले जानकारी दिनुभयो । उक्त चिनीको ३२ हजार रुपैयाँ मूल्यांकन गरिएको छ ।
त्यस्तै प्रहरी चौकी मुसहर्वाको टोलीले बाराको बिश्रामपुर गाउँपालिका वडा नम्बर ३ बड्की मुसहर्वाबाट १ हजार किलो चिनी बरामद गरेको उहाँले बताउनुभयो । डिएसपी न्यौपानेकाअनुसार ५० किलोको २० वटा बोरामा १ लाख मूल्य बराबरको चिनी बरामद गरिएको हो । बड्की मुसहर्वा निवासी ३० वर्षीय उज्वलप्रसाद यादवको खपराको घरमा अवैध रुपमा भण्डारण गरेर राखिएको अवस्थामा चिनी बरामद भएको न्यौपानेले जानकारी दिनुभएको छ ।
यस्तै जिल्ला प्रहरी कार्यालय बाराले ५५ हजार रुपैयाँ बराबरको औषधी नियन्त्रणमा लिएको छ । ईलाका प्रहरी कार्यालय कवहीबाट खटिएको टोलीले बाराको सुवर्ण गाउँपालिका वडा नम्बर ३ नेपाल भारत सीमा क्षेत्रको दशगजा क्षेत्रबाट औषधी बरामद गरेको हो ।भारतबाट नेपालतर्फ टाउकोमा बोकी ल्याउँदै गरेको बोरा प्रहरीलाई देख्ने बित्तिकै फालेर मानिस फरार भएको बाराका प्रवक्ता प्रहरी नायब उपरीक्षक दधिराम न्यौपानेले बताउनुभयो । अवैध भारतीय औषधी नियन्त्रणमा लिई आवश्यक कानुनी कारवाहीको प्रक्रियाअघि बढाइएको न्यौपानेले बताउनुभयो ।



















