काठमाण्डौं,नेकपा (एमाले) औपचारिक रुपमा फुटेको छ । वरिष्ठ नेता माधवकुमार नेपाल समूहले निर्वाचन आयोगमा नयाँ पार्टीको निवेदन दर्ता गराएसँगै एमाले विभाजनले औपचारिकता पाएको हो । नयाँ पार्टी दर्ताको लागि निर्वाचन आयोगमा निवेदन दर्ता गराइसकेको नेता मेटमणि चौधरीले बताउनुभयो । उहाँले नयाँ पार्टी दर्ताको लागि सबै प्रक्रिया पूरा गरेर आयोगमा दिइसकेको र अब निर्वाचन आयोगबाट स्वीकृतीको लागि प्रतिक्षा गरिरहेको बताउनुभयो । नेपाल समूहले पार्टीको नाम नेकपा एमाले समाजवादी र चुनाव चिह्न खुला किताब राखेको उहाँले बताउनुभयो ।

सरकारले संसदीय दल वा केन्द्रीय समितिमा २० प्रतिशत पु¥याएर दल विभाजन गर्न सकिने राजनीतिक दलसम्बन्धी अध्यादेश जारी गरेपछि नेपाल समूहले नयाँ पार्टी दर्ता गराएको हो ।

यसैबीच नयाँ दल दर्ताको प्रक्रिया अघि बढाएसँगै माधवकुमार नेपाल समूह पनि विभाजित भएको छ । एमालेका वरिष्ठ नेता नेपालले आफ्नो संयोजकत्वमा नेकपा एमाले समाजवादी दर्ता गर्ने निर्णय गरेका छन् । तर लामो समयदेखि उहाँलाई साथ दिँदै आएका दोस्रो तहका नेताहरु नयाँ दल एमाले समाजवादीमा नजाने भएका छन् । नेता नेपालले नयाँ दल दर्ता गर्न खोजेपछि उपाध्यक्ष ज्ञवालीले स्थायी कमिटीको बैठक राखेर को कता लाग्ने भनेर छलफल गर्न प्रस्ताव गरेका थिए । तर नेता नेपाल त्यसमा पनि सहमत भएनन् र नयाँ अध्यादेशअनुसार केन्द्रीय कमिटीको २० प्रतिशत संख्या पु¥याएर दल दर्ता गर्न अघि बढेका छन् । तर उनलाई एमाले पदाधिकारी र स्थायी कमिटीको ठूलो हिस्साले साथ नदिने भएको छ । स्रोतका अनुसार तीन उपाध्यक्ष युवराज ज्ञवाली, भीम रावल र अष्टलष्मी शाक्यले नेता नेपालको साथ छाडेका छन् । उपमहासचिव घनश्याम भुसाल सचिवहरु गोकर्ण विष्ट, योगेश भट्टराई र भीम आचार्य, स्थायी कमिटी सदस्य सुरेन्द्र पाण्डे र अनुशासन आयोगका प्रमुख अमृत बोहरा नयाँ दलमा नजाने भएका छन् । स्थायी कमिटी सदस्यद्वय वेदुराम भुसाल र मुकुन्द न्यौपाने भने नेता नेपालसँगै नयाँ दलमा हुनेछन् । केन्द्रीय कमिटीको पनि ठूलो हिस्सा एमाले समाजवादीमा नजाने यो समूहका नेताहरुको दाबी छ । यद्यपि यो समूह तत्काल अध्यक्ष केपी शर्मा ओली नेतृत्वको समूहमा पनि जाने सम्भावना कम रहेको नेताहरुले बताएका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here