रौतहट,रौतहटमा बोक्सीको आरोपमा एकजना वृद्धामाथि कुटपिट भएको छ । जिल्लाको माधवनारायण नगरपालिका वडा नम्बर ५ बस्ने ६५ वर्षीय श्रीपती देवीलाई उनकै छिमेकी सन्दिप महरासहितको समूहले बोक्सीको आरोपमा मरणासन्न हुनेगरी कुटपिट गरेको पीडित परिवारका सदस्यहरुको आरोप लगाएका छन । शनिबार आफ्नो घरबाट शिवनगरस्थित महादेव मन्दिर जानेक्रममा बाटोमा सन्दिप र उनका साथमा रहेका केही अन्य व्यक्तिले श्रीपतीलाई धारिलो हतियार र भाटाले मरणासन्न हुने गरी कुटपिट गरेका थिए । कुटपिटबाट श्रीपतीको टाउको, हात, कान लगायत शरीरका विभिन्न भागमा गम्भीर चोट लागेको पीडित परिवारले जनाएको छ ।
प्रहरीले घटनास्थलबाट उनलाई आक्रमण गर्न प्रयोग भएको भाटाको बन्डल बरामद गरेको छ । श्रीपती देवीलाई सोही बाटो हुँदै खेतमा गइरहेका स्थानीयवासीले देखेर उद्धार गरी चन्द्रपुर नगरपालिका वडा नम्बर– ४ स्थित सिभिल अस्पतालमा पुर्याएका थिए । हाल सोही अस्पतालमा उनको उपचार भइरहेको छ । श्रीपती देवीको श्रीमानको १० वर्ष अगाडि मृत्यु भएको थियो । श्रीमानको मृत्यु भएपछि नै उनलाई सन्दिपको परिवारले बोक्सी भन्दै मानसिक यातना दिने गरेको पीडित परिवारको आरोप छ ।