कृष्ण मोहन साह
सेढवा,स्थानीय बासिन्दाको सहभागिता बढाएर गाउँपालिकाको चौतफी विकास गर्ने उद्देश्यले पर्साको जिराभवानी गाउँपालिकाका प्रमुख अनोज चौधरीले टोलटोलमा पुगेर जनताको समस्या संकलन र विकासको लागि सुझाव संकलन गर्ने अभियान सुरु गर्नुभएको छ ।
गाउँपालिका प्रमुख चौधरीले नागरिकको चाहना अनुरुप काम गर्ने प्रतिबद्धता जनाउदै सुझाव संकलनलाई तीव्रता दिनु भएको हो । चौधरीलेले शनिबार विहान वडा नम्वर १ महादेवपट्टी र पकडी टोलामा स्थानीयसंग भेटघाट गर्दै सो क्षेत्रको विकासका लागि गर्नुपर्ने कामका बारेमा सुझाव लिनु भएको थियो । त्यसैगरी पकडी टोलको दलित बस्तीबाट पनि उहाँ स्थानीयवासीसंग सुझाव संकलन गर्नु भएको थियो ।
गाउँपालिका प्रमुख चौधरीसहित पुगेको टोलीलाई स्थानीयले स्वागत गर्दै टोल टोलमा बिग्रिएको सडक, कल्भर्ट मर्मत, नालाको स्तरउन्नति, खेत सिँचाईको लागि विद्युतीकरण र समयमै मल खादको व्यवस्था हुनुपर्ने जस्ता समस्याको बारेमा सुझाव दिएका थिए । स्थानीयको समस्या सुनेपछि गाउँपालिका प्रमुख चौधरीले आफूहरु समस्या समाधानका लागि नै टोलटोलमा आएको बताउदै समस्या समाधानका लागि तत्काल काम अघि बढाइने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
महादेवपट्टी पकडी टोल हुदै प्रमुख चौधरीले वडा नम्बर २ काठमाडौ टोलमा पुगेर कल्भर्ट मर्मत र वडा नम्वर १ पकडी टोलमा निर्माण भइरहेको विद्यालय भवनको अनुगमन पनि गर्नुभएको थियो । अनुगमनको क्रममा उहाँले गुणस्तरीय काम गर्न निर्देशन दिनुभएको थियो । पकडी टोलका स्थानीयले प्रमुख चौधरीसमक्ष ओरिया नदीका कारण वर्षायाममा खेती योग्य जमिन कटानमा पर्ने गरेको समस्या सुनाउदै नियन्त्रणको लागि प्रवन्ध गरिदिन आग्रह गरेका थिए ।
जनताको सुझाव र समस्या संकलन गर्ने क्रममा उहाँले जिराभवानी गाउँपालिकाका अन्य वडामा चालू रहेका योजनाको अनुगमन पनि गर्नुभएको थियो । सो अवसरमा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत प्राण मेहता, इन्जिनियर बन्टी चौरसिया, योजना शाखा प्रमुख सरोज दाससहितको टोली लिएर प्रमुख चौधरी गाउँमा पुग्नुभएको हो ।

















