वीरगञ्ज,वीरगञ्ज महानगरपालिकाले सिर्सिया नदी प्रदूषित गर्ने उद्योगको गेटमा फोहोर फयाँकेको छ ।महानगरपालिकाले नदी प्रदूषण गर्ने उद्योगलाई कारबाही स्वरुप उद्योगको गेटमा फोहोर थुपारेको हो । सिर्सिया नदीमा फोहोर नफाल्न पटकपटक आग्रह र जरिवाना गर्दा पनि अटेर गरेपछि आइतवार बिहानै वीरगञ्ज महानगरपालिकाले शहरी क्षेत्रबाट संकलन गरिएको कचरासहितको फोहोर ट्याक्टरमार्फ लगेर ३ वटा उद्योगको गेटमा थुपारेको हो ।

महानगरका मेयर राजेशमान सिंहको निर्देशनमा वीरगञ्ज– २१ परवानीपुरस्थित अरर्निका प्रोसेसिङ उद्योग प्रालि, श्रीसिद्धि टेक्सटाइल्स प्रालि र मोरियम लेदर इण्डस्ट्रिजमा गरी ९ ट्याक्टर कचरासहितको फोहोर लगेर उद्योगको गेटभित्रै पु¥याएर थुपारेको वीरगञ्ज महानगरको सरसफाइ व्यवस्थापन महाशाखाका प्रमुख सरफुदिन मियाँले जानकारी दिनुभयो ।
नदीमा फोहोर नमिसाउने बताएका उद्योगीहरुले आफ्नो प्रतिबद्धता ३ महिना बितिसक्दा पनि कार्यान्वयन नगरेपछि महानगरले फोहोर थुपारिएको मेयर सिंहले बताउनुभयो ।

यसअघि गत बैशाख ९ गते वीरगञ्ज महानगरले नदी फोहोर गर्ने उद्योगहरू सिल गर्ने तयारी गरेपछि सोहि दिन ९ वटा उद्योगका सञ्चालकहरूले महानगरपालिका कार्यालयमै पुगेर १५ दिनको समय माग गर्दैै नदी प्रदूषण नगर्ने भन्दै सामुहिक रुपमा लिखित प्रतिबद्धता जनाएका थिए । तर प्रतिबद्धता जनाएको ३ महिना बितिसक्दा पनि नदीको प्रदूषण नरोकिएपछि अटेरी गर्ने उद्योगमा महानगरले बाध्य भएर काराबाही गर्नुपरेको मेयर सिंहले बताउनुभयो । उहाँले भन्नुभयो, ‘पटकपटक म आफैंले नदी प्रदूषित गर्ने उद्योगहरूको अनुगमन गरेर सचेत गराएँ । ५ वटा उद्योगलाई ३÷३ लाख रुपैयाँका दरले आर्थिक जरिवाना पनि गरियो । उद्योगीहरू आफैं महानगरपालिकामा आएर १५ दिनको समय मागेका थिए । तर नदीको प्रदूषण रोकिएन, उहाँले भन्नुभयो, अब अति नै भएपछि बाध्य भएर उद्योगभित्र फोहोर थुपारेका हौं ।’उहाँले अब पनि उद्योगहरूले नदी प्रदूषण नरोके नेपालको प्रचलित कानुन बमोजिम महानगरपालिकाले थप कडा कदम चाल्ने चेतावनी पनि दिनुभएको छ ।

Leave a Reply