जीतपुर,मधेस प्रदेशका शिक्षा तथा संस्कृति मन्त्री प्रमोदकुमार जयसवालको बिहीवार जीतपुरमा सम्मान गरिएको छ ।
गत निर्वाचनमा पर्सा ३ (क) बाट लोकप्रिय मत ल्याएर प्रदेश सभामा विजयी जयसवाल मधेस प्रदेश सरकारको शिक्षा मन्त्री बनेपछि उहाँको सम्मान गरिएको हो । जयसवाल स्वतन्त्र उम्मेदवारी दिएर विजयी बन्नुभएको थियो ।
गत शनिवार नेकपा एमालेको कोटाबाट मधेस प्रदेश सरकारको शिक्षा तथा संस्कृति मन्त्रीको पदभार ग्रहण गरेलगत्तै जयसवालको सफल कार्यकालको शुभकामना तथा बधाई दिइएको हो ।
मन्त्रीको रुपमा शपथ ग्रहण गरेपछि आफ्नो निर्वाचन क्षेत्रका मतदाताहरुसँंग भेटघाट गर्न पर्सा जिल्लामा आउनु भएको मौका पारेर बाराको जीतपुरमा पनि उहाँको भव्य स्वागत एवम् सम्मान गरिएको थियो ।
नेपाल सितोरियो कराते जीतपुरले आयोजना गरेको कार्यक्रममा नेपाल सितोरियो कराते शाखा जीतपुरका प्रशिक्षक मनोजकुमार शाहले मन्त्री जयसवाललाई मायाको चिनो प्रदान गर्नुभएको थियो ।
कार्यक्रमलाई सम्बोधन गर्दै शिक्षा तथा संस्कृति मन्त्री जयसवालले मधेस प्रदेशमा शिक्षाको स्तरोन्नतिका लागि आफू प्रतिबद्ध रहेको बताउनुभयो । बालबालिकाको उज्ज्वल भविष्य निर्माण गर्न सामुदायिक विद्यालयबाट पनि सम्भव रहेको बताउदै उहाँले सामुदायिक विद्यालयका शिक्षक र अभिभावकहरुले जिम्मेवार भएर काम गर्नुपर्नेमा जोड दिनुभयो ।
उहाँले आफूले पाएको जिम्मेवारीलाई इमान्दारीताका साथ पूरा गर्दै समग्र मधेस प्रदेशको शिक्षा क्षेत्रको स्तरोन्नतिका लागि सबैले इमान्दार भएर काम गर्नुपर्ने बताउनुभयो । सामुदायिक विद्यालयमा गरिएको लगानीको सही सदुपयोग गरी बालबालिकाको उज्ज्वल भविष्य निर्माणको लागि आफूले भूमिका निर्वाह गर्ने आश्वासन उहाँले दिनुभएको छ । उहाँले शिक्षा क्षेत्रको विकासको लागि आफू नयाँ योजनाका साथ अगाडि बढ्ने पनि बताउनुभयो ।
कार्यक्रममा कलवार कल्याण समितिका अध्यक्ष कन्हैया गुप्ता, जीतपुर युवा क्लबका अध्यक्ष भुनेश पासवान, ठेला संघका अध्यक्ष महेन्द्र पासवान, सहयोगी हात नेपालका अध्यक्ष देवानन्द साह, सन राइज युवा क्लबका अध्यक्ष बन्दना चौधरी, व्यापारी पप्पु साह, सुरेस साह, महिला नेतृ दिपु पासवान, दलित नेता चन्द्रशेवर पासवान, ट्राफिक प्रहरी जीतपुरका प्रमुख बब्लु ठाकुरलगायत स्थानीय बुद्धिजीवी, समाजसेवी, पत्रकार, सुरक्षाकर्मी र खेलाडीहरुको समेत उपस्थिति रहेको थियोे । कार्यक्रमको सहजीकरण पत्रकार एस पटेलले गर्नुभएको थियो ।


















