कलैया, सुनको सिक्री नपाएको भन्दै बिहे रद्द गरेको आरोपमा पक्राउ परेका बेहुलासहित पाँच जना धरौटीमा रिहा भएका छन्।सुनको सिक्री नपाएको भन्दै बिहे रद्द गरेको आरोपमा पक्राउ परेका बेहुला बारा कलैया उपमहानगरपालिका–४ बस्ने उमेश साह गोढ,उनका बुवा बच्चालाल साह गोढ,बेहुलाका दाईहरु राकेश कुमार साह,मुकेश कुमार साह र बेहुलाको भिनाजु बारा परवानीपुर गाउँपालिका–५ बस्ने रामएकवाल साह धरौटीमा रिहा भएका हुन्।
फागुन २८ गते राति जन्ती लिएर वीरगञ्ज महानगरपालिका–२४ मा आएका बेहुला उमेशसहित पाँचै जनाले सुनको सिक्री नपाएको भन्दै बिहे नै रद्द गरेका थिए। सो क्रममा बेहुली पक्षकाहरूसंग वाद–विवाद तथा हातपात समेत गरी विवाह छोडी जान लागेको भन्ने मौखिक सूचनाको आधारमा पर्सा प्रहरीले पाँचै जनालाई पक्राउ गरेको थियो।
उनीहरु बिरुद्ध बितेको चैत ९ गते जिल्ला अदालत पर्सामा बिबाह समबन्धि कसुरमा मुदा दर्ता भएको थियो ।सोही मुदाको बितेको आईतबार सुनुवाई गर्दै अदालतका न्यायाधीश दीपक खनालको ईजलाशले पाँचै जनासित धरौटी माँग गर्ने आदेश दिएको थियो ।आदेश अनुसार धरौटी बुझाएर बेहुलासहित पाँचै जना तारेखमा रिहा भएका हुन्।


















