निजगढ,बाराको निजगढ नगरपालिका– १३ को भक्तलालमा आइतवार आयोजना गरिएको निःशुल्क स्वास्थ्य शिविरमा २ सय १४ जनाभन्दा बढीले स्वास्थ्य परीक्षण गराउनुको साथै निःशुल्क औषधि सेवासमेत लिएका छन ।गौरीशंकर क्याम्पस निजगढ र निजगढ नगरपालिका वडा नम्बर १३ को संयुक्त आयोजना भएको सो एकदिने स्वास्थ्य शिविरमा निजगढ सामुदायिक अस्पताल, निजगढ तिलगंगा आँखा अस्पतालले प्राविधिक सहकार्य गरेका थिए ।
शिविरमा निजगढ सामुदायिक अस्पतालका चिकित्सक सतिस निरौला र मुन्ना साहले बिरामीहरुको स्वास्थ्य परीक्षण गरेका थिए । शिविरमा आँखा सम्बन्धी बिरामीहरुको जाँच तथा उपचार भने गजेन्द्रकुमार महतोले गर्नुभएको थियो ।
स्वास्थ्य शिविरमा नेपाल रेडक्रस सोसाइटी निजगढ उपशाखाले रक्तदान कार्यक्रमको पनि आयोजना गरेको थियो । रक्तदान कार्यक्रममा २ महिलासहित १३ जनाले रक्तदान गरेका छन ।
सर्वसाधारणको घरघरमै पुगेर निःशुल्क स्वास्थ्य सेवा उपलब्ध गराउने उद्देश्यले वडा कार्यालयको सहयोगमा शिविरको आयोजना गरिएको वडा नम्बर १३ का वडा अध्यक्ष सुर्यबहादुर घलानले बताउनुभयो । स्वास्थ्य सुरक्षा जनताको प्रमुख सरोकारको विषय भएकोले निःशुल्क स्वास्थ्य शिविर आयोजना गरिएको वडाअध्यक्ष घलानको भनाई छ ।गाउँमा सडक, खानेपानी र शिक्षाको क्षेत्रमा धेरै काम गरिसकिएको तर स्वास्थ्य क्षेत्र पनि उत्तिकै महत्वपूर्ण भएकाले चिकित्सकहरुलाई वडा कार्यालयमै ल्याएर स्वास्थ्य जाँच गरिएको वडा अध्यक्ष घलानको भनाई छ ।शिविर आयोजना गर्न स्थानीय सयपत्री विकास सामाजिक संस्था लगायत विभिन्न संघ संस्थाले समेत सहयोग गरेका थिए ।















