कृष्णउदास खनाल
वीरगन्ज, पर्सामा रहेका दुई वीरगन्ज भन्सार तथा सिर्सिया सुक्खा बन्दरगाह भन्सार कार्यालयले लक्ष्य अनुसारको राजश्व संकलनमा मुस्लिक देखिएको छ । चालु आर्थिक बर्षमा यी दुबै भन्सारलाई कुनै पनि महिनामा लक्ष्य अनुरुप राजश्व संकलन गर्न नसकेको तथ्यांकले नै देखाएको छ । भन्सार विभागले तोक्दै आएको मासिक लक्ष्य भेट्टाउन असफल हुँदा यी भन्सारले चालु आवको राजश्व लक्ष्य भेट्टाउन नसक्ने निश्चित देखिएको हो ।

वीरगन्ज भन्सार कार्यालयले माघ महिनामा लक्ष्यको ५९ दशमलव ९४ प्रतिशतमात्र राजश्व संकलन गरेको छ । माघ महिनामा १९ अर्ब ७४ करोड १३ लाख ९९ हजार रुपैयाँ लक्ष्य राखेको यो भन्सारले ११ अर्ब ८३ करोड २७ लाख ५८ हजार रुपैयाँ मात्र राजश्व संकलन गरेको छ । माघ महिनासम्म १ खर्ब ३९ अर्ब ८१ करोड ७४ लाख ६७ हजार रुपैयाँ राजश्व संकलनको लक्ष्य राखेको यो भन्सारले यसअवधिमा लक्ष्यको ६१ दशमलव ९२ प्रतिशत मात्र अर्थात ८६ अर्ब ५७ करोड ७५ लाख ३८ हजार रुपैया राजश्व संकलन गरेको छ । चालु आवभरीमा यो भन्सारले २ खर्ब ४५ अर्ब ८८ करोड ५० लाख ८२ हजार रुपैया राजश्व संकलन गर्ने लक्ष्य पाएको छ ।
सिर्सिया सुक्खा बन्दरगाह भन्सार कार्यालयले माघ महिनामा ५ अर्ब ३५ करोड ८९ लाख २ हजार रुपैया राजश्व असूलीको लक्ष्य राखेकोमा ३ अर्ब ७४ करोड ४७ लाख ५ हजार रुपैया मात्र राजश्व असूली गर्न सकेको छ । जुन लक्ष्यको ६९ दशमलव ८८ प्रतिशत मात्र हो ।त्यसैगरी, चालु आर्थिक बर्षको माघसम्म ३७ अर्ब ६३ करोड ७० लाख १० हजार रुपैया राजश्व असूलीको लक्ष्य पाएको यो भन्सारले यस अवधिमा लक्ष्यको ७५ दशमलव ८४ प्रतिशत मात्र अर्थात २८ अर्ब ५४ करोड २२ लाख ५२ हजार रुपैया मात्र राजश्व असूली गर्न सकेको छ ।
चालु आवका लागि यो भन्सारले ६५ अर्ब ९४ करोड १ लाख २२ हजार रुपैया राजश्व असूलीको लक्ष्य पाएको छ ।वीरगन्ज भन्सार कार्यालय प्रमुख प्रशासक डिलाराम पन्थीले समग्रमै आयात घटेकाले त्यसको प्रभाव राजश्वमा प्रत्यक्ष परेको बताउनुु भएको छ । सर्सिया सुक्खा बन्दरगाह भन्सार कार्यालयका सूचना अधिकृत सुशीलप्रसाद शर्माले निर्माण सामग्री र दैनिक उपभोग्य बस्तुको माग घट्दो क्रममा रहेकाले समग्रमै आयात घट्न गएको बताउनुुभयो ।

















