वीरगञ्ज,यस वर्षको स्वर्गीय गोपाल गिरी क्रियाशील पत्रकारिता पुरस्कार बृजलाल पासवानले पाउने हुनुभएको छ । नेपाल पत्रकार महासंघको सोमवार बसेको कार्यसमिति बैठकले राष्ट्रिय सहारा दैनिकका सहसम्पादक बृजलाल पासवानलाई उक्त पुरस्कार प्रदान गर्ने निर्णय गरेको महासंघका अध्यक्ष अनुप तिवारीले जानकारी दिनुभयो । पासवान राष्ट्रिय दलित पत्रकार संघ पर्साका सल्लाहकार पनि हुनुहुन्छ ।यो पुरस्कार आगामी माघ १ गते औपचारिक कार्यक्रमका बीच प्रदान गरिनेछ जनाइएको छ । अध्यक्ष तिवारीको अध्यक्षतामा पत्रकार महासंघको सभाकक्षमा बसेको बैठकमा उपाध्यक्ष युवराज खड्का, सुष्मा शर्मा, सचिव भुषण यादव, कोषाध्यक्ष सञ्जिव मिश्रा लगायत कार्यसमिति पदाधिकारी र सदस्यहरुको उपस्थिति रहेको थियो ।गिरी २०४७ सालमा पत्रकार महासंघ पर्सा शाखाको अध्यक्ष हुनुहुन्थ्यो । तत्कालिन वीरगञ्ज उपमहानगरको मनोनित मेयर रहँदा २०६० साल माघ १ गते तत्कालिन माओवादीले गोपाल गिरीको हत्या गरेको थियो । स्वर्गीय गिरीको सम्झनामा नेपाल पत्रकार महासंघ पर्साले यो पुरस्कार वितरण गर्दै आएको अध्यक्ष तिवारीले जानकारी दिनभुयो । गोपाल गिरीका परिवारसँगको सहकार्यमा संचालन गरिएको सो पुरस्कारको राशी अहिले २५ हजार रुपैयाँ छ ।यो पुरस्कारबाट यसअघि पर्साका पत्रकार शत्रुघन नेपाल, ध्रुब साह, प्रताप श्रेष्ठ, महेशचन्द्र गौतम, बिजय भण्डारी, केसी लामिछाने, श्याम बन्जारा, ओमप्रकाश खनाल, कन्हैयालाल केशरी र गया यादव पुरस्कृत भइसकेका छन् ।महासंघले हरेक वर्ष पर्सा जिल्लालाई कार्यथलो बनाएर काम गर्ने एकजना पत्रकारलाई स्व. गोपाल गिरी क्रियाशील पत्रकारिता पुरस्कार प्रदान गर्दैआएको छ ।

Leave a Reply