पुष्पराज खतिवडा
सिमरा,जीतपुरसिमरा उपमहानगरपालिका नगर उद्योग बाणिज्य संघले आयोजना गर्न लागेको प्रथम जीतपुरसिमरा महोत्सव २०८० शुक्रवार मधेस प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले उद्धाटन गर्नुहुने भएको छ ।बाराको जीतपुरसिमरा उपमहानगरपालिका उपमहानगरपालिका वडा नम्बर ३ बजनीमा शुक्रवार दिउसो मधेस प्रदेशका मुख्यमन्त्री यादवले महोत्सवको उद्धाटन गर्नुहुने आयोजकले जनाएको छ । यसअघि प्रधानमन्त्री पुष्पकमल दाहालले महोत्सवको उद्धाटन गर्ने बताइएको थियो ।
प्रधानमन्त्री दहाल कार्य व्यस्तताका कारण आउन नसक्ने भएपछि मुख्यमन्त्री यादव आउन लाग्नुभएको हो । महोत्सव स्थल बजनीमा बिहीवार पत्रकार सम्मेलनको आयोजना गरी आयोजकले सम्पूर्ण तयारी पुरा भएको जनाएकोे छ ।
स्थानीय उत्पादनसंगै पर्यटन प्रवद्र्धन गरी आर्थिक गतिविधि सक्रिय पार्ने उद्देश्यले महोत्सव आयोजना गर्न लागिएको आयोजक जीतपुरसिमरा नगर वाणिज्य संघका अध्यक्ष मोहन शर्मा लामिछानेले जानकारी दिनुभयो ।महोत्सवमा आधुनिक प्रविधिको प्रदर्शनी, स्थानीय कला, विभिन्न जनजातीहरुको संस्कृति झल्कने झाँकी समेत प्रस्तुत गरिने छ । स्थानीय उत्पादनको बिक्री गर्ने व्यापारीलाई प्राथमिकतामा राखेर उनीहरुको लागि स्टलहरुमा १५ देखि २५ प्रतिशतसम्म छुटको योजना राखिएको छ । १ सय ५० वटा व्यवसायिक स्टल रहने आयोजक संघका महासचिव प्रकाश गिरीले जानकारी दिनुभयो ।

महोत्सव अवलोकनका लागि विद्यार्थीलाई २५, सर्वसाधारणले ५० र बेलुकीका लागि १ सय रुपैंया शुल्क तिर्नुपर्ने छ । जेष्ठ नागरिक र अपाङ्गता भएका व्यक्तिहरुका लागि भने निशुल्क प्रवेशको व्यवस्था गरिएको गिरीले बताउनुभयो ।
महोत्सवमा प्रथम जीतपुरसिमरा डान्स च्याम्पियन समेतको आयोजना गरिने नगर उद्योग वाणिज्य संघका अध्यक्ष शर्माले बताउनुभयो । उहाँका अनुसार नृत्य च्याम्पियनमा प्रथम हुनेलाई ३० हजार, द्धितीयलाई १५ तृतीय हुनेलाई १० र चौथो हुनेलाई ५ हजार रुपैंया सहित ट्रफी र प्रमाण पत्र प्रदान गरिने छ । दैनिकरुपमा स्थानीय तथा राष्ट्रिय स्तरका ख्याति प्राप्त कलाकारहरुको प्रस्तुति रहने पत्रकार सम्मेलनामा अध्यक्ष शर्माले जानकारी गराउनुभयो ।‘कृषि, पर्यटन, खेल, उद्योग र व्यापार जीतपुरसिमरा, बारा मधेश समृद्धिको मुख्य आधार’ भने मुल नारा सहित नगर वाणिज्य संघले पहिलो पटक आयोजना गर्न लागेको महोत्सव फागुन २९ गतेसम्म चल्ने छ ।

Leave a Reply