दुष्यन्त चौधरी

बारा,राष्ट्रिय स्वतन्त्र पार्टीका केन्द्रीय अध्यक्ष रवि लामिछाने आफू टेलिभिजन कार्यक्रम छाडेर राजनीतिमा आउनुको मुख्य उद्देश्य मधेस देखिएको विभेदको अन्त्य गर्नु रहेको बताउनुभएको छ ।
कलैयामा बुधबार पार्टीले आयोजना गरेको जिल्लास्तरीय भेलामा सम्बोधन गर्दै राष्ट्रिय अध्यक्ष लामिछानेले सो कुरा बताउनुभएको हो ।
उहाँले राजनीति देशको मूल निति भएको बताउदै आफूले संचार माध्यमबाट पूरा गर्न नसकेको काम अब राजनीतिमार्फत पूरा गरेर देखाउने बताउनुभयो । मधेस लगायत देशमा विद्यमान विभेद र उत्पिडनको अन्त्य गर्न राजनीतिमा आयाएको हुँ ।’ उहाँले भन्नुभयो ।नयाँ पुस्ताका लागि परिवर्तनको आभाष दिलाउनुको लागि आफू राजनीतिमा होमिएको सुनाउदै पूर्वसञ्चारकर्मी लामिछानेले राजनीतिमा गन्हाएको हिलो फाल्न आफू पत्रकारिता छाडेर राजनीतिको मैदानमा उत्रिएको प्रष्ट पार्नुभयो । कलैयामा आयोजित घोषणा सभामा उहाँले आफूले ठूल्ठूला घोषणा नगर्ने बरु स(साना कुरामा परिवर्तन गर्न चाहेको पनि बताउनुभयो । आफू देशको व्यवस्था बदल्न नभइ अवस्थामात्र बदल्न आएको सुनाउनुभयो । ‘म कुनै व्यवस्था बदल्न राजनीतिमा आएको होइन, उहाँले भन्नुभयो, देशको दयनीय अवस्था बदल्न आएको हुँ ।’ समाजमा रहेका विकृति र विसङ्गति बदल्ने प्रयास गर्ने भन्दै उहाँले पहिलेदेखि नै धेरैले आफूलाई राजनीतिमा लाग्न प्रेरित गरे पनि अहिलेमात्रै आएको बताउनुभयो । अध्यक्ष लामिछानेले पुराना दलका नेता र आफू उस्तैउस्तै देखिने गरेको भए पनि नझुक्किन सर्वसाधारणसंग आग्रह गर्नुभयो ।
कलैयास्थित भरत चोकमा राष्ट्रिय स्वतन्त्र पार्टीका मधेस प्रदेश संयोजक ममता शर्माको अध्यक्षतामा भएको सो जिल्ला भेला कार्यक्रममा पार्टीका केन्द्रीय सदस्य सबिना विक, रोशनकुमार अधिकारी, चन्दन सर्राफलगायतले मन्तव्य व्यक्त गर्नुभएको थियो ।



















