मनोज शाह
जीतपुर,जीतपुरसिमरा उमनपा– १ पथलैयामा अवस्थित गढीमाई साझेदारी वन व्यवस्थापन समितिमा कर्मचारी नियुक्तिमा व्यापक अनियमितता भएको बताइएको छ ।वन समितिले गत साउन महिनामा भर्ना गरेर काममा लगाउदै आएका २ जना कर्मचारीहरुको नियुक्ति नियमसङ्गत ढङ्गले नभएको बताइएको हो । गढीमाई साझेदारी वन व्यवस्थापन समितिले नियुक्ति दिएका दुई जना कर्मचारीहरुले आफूहरुले विगत केही महिनादेखि तलब नपाएको गुनासो गरेपछि सो बारे बुझ्ने क्रममा कर्मचारीहरुको नियुक्ति नै गैरकानुनी रहेको खुलासा भएको हो ।
कर्मचारी नियुक्ति गर्दा पत्रपत्रिका, रेडियो वा टि.भीमा विज्ञापन निकाल्नुपर्नेमा गढीमाई साझेदारी वन व्यवस्थापन समितिले कुनै पनि प्रक्रिया नपुर्याइकन, नियम कानुन विपरीत मिलोमतोमा कर्मचारीहरुको नियुक्ति गरेको हो ।
गैरकानुनी ढङ्गले नियुक्ति भएकामध्ये बाराको परवानीपुर गाउँपाविलका– ४ चैनपुर निवासी ४२ वर्षीय हरेराम साहले वि.सं. २०८० साउन १४ गतेदेखि गढीमाई साझेदारी वन व्यवस्थापन समितिको कार्यालयमा कर्मचारीको रुपमा काम गर्दैआएको बताउनुभयो ।
यसैगरी पर्साको बहुदरामाई नगरपालिका वडा नम्बर ४ निवासी निशेष यादवलाई पनि प्रक्रिया नपुर्याईकन सोही कार्यालयमा नियुक्ति गरिएको हो । यादवले पनि विगत दुई महिनादेखि कार्यालयमा काम गर्दैआएका छन् । गढीमाई साझेदारीले काठ बिक्री वितरणमा अनियमितता गर्न कर्मचारी नियुक्तिमा समेत अनियमितता गरेको बताइएको छ ।

















