राज कुमार यादव
मौलापुर,रौतहटको मौलापुरस्थित परौता पुरातात्विक महादेव मन्दिरलाई विश्व सम्पदा सूचीमा सूचीकृत गराउन तथा मधानी महायज्ञलाई अन्तर्राष्ट्रिय स्तरमा पु¥याउने संकल्प सहित ‘मधानी महोत्सव २०८०’ आयोजना गरिनेभएको छ ।
फागुन २२ देखि २६ गतेसम्म महोत्सव आयोजना गरिन लागिएको मौलापुर नगरपालिकाकी मेयर रीनाकुमारी साहले शुक्रवार विज्ञप्तिमार्फत जानकारी दिनुभयो । मौलापुर नगरपालिका वडा नम्बर ५ पतौरामा अवस्थित हजारौँ वर्ष पुरानो पुरातात्विक महत्वको महादेव मन्दिर एक विरासतपूर्ण सम्पदा भएको उहाँले बताउनुभएको छ ।
मन्त्रोच्चारण बिना स्थानीय आदिवासी थारुको नेतृत्वमा रहेको कमरधुवा (बोलबम) समुहद्वारा गरिने मौलिक यज्ञ वैदिककाल पूर्वको मानिने नगर प्रमुख साहको भनाई छ । भगवान शिवको बरात यात्राबाट सुरु भई जल, जमिन र बसहाको पूजन सहित शुभारम्भ हुने यज्ञमा शिव विवाह लिला समेत प्रदर्शन गरिने उहाँले बताउनुभयो ।
मधानी महोत्सवमा फाल्गुन २२ र २३ गते फतेपुरको नाच, २३ गते मधानी यज्ञ तथा शिवको बरात, २३ र २४ गते भारतको शिव लिला प्रदर्शनी, फाल्गुन २५ गते मधानी सांस्कृतिक समारोह र २६ गते अन्तर्राष्ट्रिय दंगल प्रतियोगिता हुने नगर प्रमुख साहले जानकारी दिनुभयो ।
महोत्सवको तयारी तीव्र रूपमा भइरहेको र महोत्सवमा बलिउडका चर्चित कलाकार गोविन्दाका साथै नेपाली कलाकारहरू पल शाहसहितका दर्जनौँ कलाकार सहभागी हुने बताइएको छ । रौतहट क्षेत्र नम्बर ३ का सांसद तथा आजपाका अध्यक्ष प्रभु साहले शुक्रवारको प्रतिनिधिसभा बैठकमा सो महोत्सवका लागि आवश्यक सहयोग गर्न सरकारको समेत ध्यानाकर्षण गराउनुभएको थियो । मौलापुर सांसद साहको गृह नगर पनि हो ।


















