कलैया,जिल्ला प्रहरी कार्यालय बाराले प्रहरी सहायक निरीक्षक विजयकुमार महतोलाई माघ महिनाको उत्कृष्ट प्रहरी घोषणा गरेको छ ।इलाका प्रहरी कार्यालय सिमरा अन्तर्गत महिला, बालबालिका सेवा केन्द्रमा दरबन्दी भई हाल जिल्ला प्रहरी कार्यालय बारामा कार्यरत महतोले अपराध अनुसन्धानमा उल्लेखनीय भूमिका खेलेपछि बाराका प्रहरी उपरीक्षक नरेन्द्र कुँवरले उहाँलाई उत्कृष्ट प्रहरी घोषणा गर्दै पुरस्कृत गर्नुभएको हो ।

माघ १४ गते बिहान करिब २ बजे परवानीपुर गाउँपालिका– ९ रहरियाडिहस्थित करिब ५० वर्षीय जगरुप मण्डलको घरमा अपरिचित व्यक्तिले घरभित्र प्रवेश गरी ५ जनामाथि चक्कु प्रहार गर्दा २ जनाको घटनास्थलमै मृत्यु भएको थियो । उक्त घटनामा संलग्न मुख्य अभियुक्तहरू असई महतोको सक्रियता पक्राउ परेका थिए ।

घटनामा संलग्न परवानीपुर गाउँपालिका– १ निवासी मृतक रामईश्वर मण्डलकी २३ वर्षीया श्रीमती मनिता देवी मण्डल तथा मुख्य फरार अभियुक्त वडा नं. ७ निवासी २७ वर्षीय धर्मेन्द्र महतो धानुकलाई घटना भएको करिब ८ घण्टाभित्रै खोजतलास गरी पक्राउ गर्न उहाँले मुख्य भूमिका निर्वाहा गर्नुभएको हो ।

प्रहरी सहायक निरीक्षक महतोले अनुसन्धान कार्यमा अहम् भूमिका निर्वाह गर्दै सुम्पिएको जिम्मेवारी अत्यन्त इमान्दारी एवं उत्कृष्ट ढंगबाट पुरा गरेको र साथै विभागीय नीति–निर्देशनको पूर्ण पालना गरेको भन्दै उत्कृष्ट कार्यको कदरस्वरूप उनलाई माघ महिनाको उत्कृष्ट प्रहरी (बेस्ट पुलिस अफ द मन्थ) घोषणा गरिएको एसपी कुँवरले जानकारी दिनुभएको छ ।

Leave a Reply