बारा,समाजिक परिवर्तन केन्द्र काठमाडौको सहजीकरणमा संचालित सद्भाव परियोजना अन्तर्गत कलैयास्थित श्रीदर्गा माध्यमिक विद्यालय बरेवाका ५० जना विद्यार्थीहरु बीच आयोजना गरिएको कला विधिमार्फत संवाद कार्यक्रम सोमवार सम्पन्न भएको छ ।समाजमा विद्यमान समाजिक कुरिति झल्कने चित्र, बोर्ड गेम, कार्टुन, भिडियो आदिको प्रयोग गरिएको उक्त कार्यक्रममा विद्यार्थीहरुले समाजमा सदभाव भए मात्र शान्ति र विकास सम्भव भएको बताएका छन ।समाजमा रहेका विभिन्न सामाजिक सवालहरुमा मतभेद तथा द्वन्दलाई कसरी समाधान गर्ने र समाजमा समाजिक सदभाव, विश्वास तथा शान्तिको अवस्थालाई कसरी उच्चस्तरमा बृद्धि गरी सामाजिक एकता कायम गर्ने भन्ने बारेमा चित्रमार्फत देखाइएको थियो ।
कार्यक्रममा विभिन्न चित्र देखाएर त्यसमा भइरहेको घटना बारे सहभागीलाई प्रश्न गरिएको र सहभागीले पनि चित्रको विश्लेषण गरेर आफुले बुझेको कुरा वर्णन गरेका थिए ।कार्यक्रम बारा जिल्लाका तीन जना सहजकर्ता जुही मेहता, राजेश प्रसाद कुशवाहा र अनिलकुमार कुशवाहाले सहजीकरण गरेका थिए ।सामाजिक परिवर्तन केन्द्र सन् २०१५ मा स्थापित एक गैर–सरकारी सामाजिक संस्था हो । यस संस्थाले विशेष गरी अनुसन्धान, शिक्षा, वकालत र सामुदायिक परिचालन मार्फत नेपाली समाजको रूपान्तरणमा काम गर्दैआएको छ । संस्थाको साझेदारीमा सद्भाव परियोजना प्रदेश १ को सुनसरी जिल्ला, मधेस प्रदेशको बारा जिल्ला, लुम्बिनी प्रदेशको रुपन्देही जिल्ला र सुदूरपश्चिम प्रदेशको कैलाली जिल्लामा सञ्चालन भइरहेको छ ।बारा जिल्लाका दुई पालिका कलैया उपमाहानगरपालिका तथा फेटा गाँउपालिकामा यो परियोजना संचालन भइरहेको संस्थाको फिल्ड अफिसर विक्की महतोले जानकारी गराउनुभयो ।

















