वीरगंज,३ कार्तिक ।
भारतबाट वीरगंज लगायत अन्य नाकाहरुबाट माछाको तस्करी बढेकाले यहाका माछा व्यपारी समस्यामा परेका छन् ।

भन्सार विभागको तथ्याङले पछिल्ला केहि महिना यता बैध रुपमा माछाको आयात घटेको देखिन्छ । तर व्यपारीहरु भने भन्सार विभागको तथ्याङकमा माछाको आयात घटेको देखिएपनि तस्करी भने बढेको दाबी गर्छन् । जसका कारण भारतबाट वैध रुपमा माछा आयात गरि कारोबार गर्नेहरु मर्कामा परेको गुनासो उनिहरुको छ ।

बिना भन्सार र बिना क्वारेन्टाइन गरि भारतबाट चोरी पैठारी गरी माछा भारी परिमाणमा माछा भित्रिन थालेपछि आफुहरुलाई बैध कारोबार गर्न कठिन भएको माछा आयातकर्ताहरु बताउछन् । तस्करी गरि ल्याइएका माछाले बजार अगोटेपछि यसले वैध रुपमा (भन्सार तिरेर र क्वारेन्टाइन गरेर ) माछा आयात गर्ने व्यपारीहरु समस्यामा परेका हुन् ।

भन्सार विभागको तथ्याङक अनुसार , हरेक वर्ष माछा आयातको परिमाण बढ्दो रुपमा रहे पनि चालु आर्थिक वर्षका पछिल्लो दुइ महिना ( साउन र भदौं ) मा निक्कै घटेको छ ।तस्करी गरेर ल्यायएका माछाका कारण , वैध रुपमा माछाको आयात गत आर्थिक वर्षको तुलनामा चालु आर्थिक वर्षमाको पछिल्लो दुइ महिनामा ७० प्रतिशतले घटेको छ ।

बजारमा माछाको व्यपार र सेवन गर्ने उपभोक्ताको संख्या नघटेपनि पछिल्लो दुइ महिनामा गत आर्थिक वर्षको तुलनामा वैध रुपमा माछाको आयात ३०.११ प्रतिशतमा खुम्चिएको छ । यहि तथ्याङकले नै अहिले भारतबाट ७० प्रतिशत माछा अवैध रुपमा आयात भइरहेको पुष्टि हुने वीरगंजका माछा आयातकर्ता विपिन साहको जिकिर छ ।

साह भन्छन्,‘ नेपालमा पछिल्ला केहि बर्ष यता माछाको सेवन बढेकाले बजार पनि बढेको छ , यसले आयात बढ्नु पर्ने हो,तर बढ्नुको सट्टा आयात त झन घटेको भन्सार विभागकै तथ्याङकले देखाएको छ , यसको मतलब तस्करी बढेको पुष्टि हुन्छ । तस्करी मार्फत त्रियायएका माछाका कारण वैध रुपमा कारोबार गर्ने व्यपारीहरु मारमा परेको उनि बताउछन् ।

गत आर्थिक वर्ष २०७८÷०७९ नेपालमा भारतबाट १ हजार ६ सय ९३.७२ मेट्रिक टन विभिन्न प्रजातिका माछा आयात भएको भन्सार विभागको तथ्यांकमा उल्लेख छ । यो तथ्याङकले गत आर्थिक वर्षको हरेक महिना औसतमा १ सय ४१ मेट्रिक टन माछा आयात भएको देखिन्छ ।
तर चालु आर्थिक वर्षको पहिलो दुइ महिनामा गरि कूल ८४ मेट्रिक टन माछा आयात भएको छ । यो भनेको महिनाको ४२.५१ मेट्रिक टन मात्र हो ।चालु आर्थिक वर्षको पहिलो दुइ महिना माछाको आयात गत आर्थिक वर्षको तुलनामा ६९.८९ प्रतिशतले ह्वातै घटेको तथ्यांकले नै देखाएको छ ।
गत साउन यता आचानक नेपालमा बिना भन्सार र बिना क्वारेन्टाइन भित्र्याइएका माछाले बजारमा कब्जा जमाएको गुनासो साहको छ । यसका साथै तस्करी मार्फत स्वास्थ्यका लागि हानीकारक माछाहरु ठूलो परिमाणमा भारतबाट नेपाल आयात भइरहेको माछा व्यपारीहरु बताउछन् ।
स्वास्थ्यको लागि घातक मानिने फर्मालिन युुक्त माछा भारतबाट दैनिक ५० टन भन्दा बढी नेपाल भित्रिने गरेको नेपाल मत्स्य व्यवासायी संघका केन्द्रीय अध्यक्ष अम्बिका प्रसाद अधिकारी बताउछन् ।

तस्करी मार्फत क्वारेन्टाइन परिक्षण बिना भित्रिने माछाहरु स्वास्थ्यका लागि हानीकारक पनि हुने गरेको माछा विज्ञहरु बताउछन् । माछालाई लामो समय सम्म सद्दे राख्न केमिकल प्रयोग गरिन्छ । त्यस्ता केमिकल स्वास्थ्यका लागि हानीकारक हुने गरेको वीरगंजको नारायणी अस्पतालका चिकित्सक डाक्टर उदयनाराण सिंह बताउछन् ।

सिंह भन्छन्,‘ खासगरि भारतको सामुन्द्रिक क्षेत्रबाट आउने माछाहरुलाई लामो समय सम्म आलो राख्न विभिन्न किसिमका केमिकल माछा प्याक गरिएको बरफ सहितको बाक्सामा राखेको पाइन्छ , त्यो केमिकल माछाको भित्रिभाग सम्म पनि छिरेको हुन्छ जुन स्वास्थ्यका लागि हानीकारक हुन्छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here