काठमाण्डौं,निजगढमै अन्तर्राष्ट्रिय विमानस्थल निर्माण सम्बन्धमा सरकारले गठन गरेको विज्ञ समूहले निजगढमै अन्तर्राष्ट्रिय विमानस्थल उपयुक्त हुने निष्कर्षसहितको अध्ययन प्रतिवेदन आइतवार प्रधानमन्त्री शेरबहादुर देउवालाई बुझाएको छ ।प्रधानमन्त्री निवास बालुवाटारमा आयोजित कार्यक्रममा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठको उपस्थितिमा विज्ञ समूहका संयोजक वीरेन्द्रबहादुर देउजाले प्रधानमन्त्री देउवालाई अध्ययन प्रतिवेदन हस्तान्तरण गर्नुभएको हो ।योसँगै निजगढमै अन्तर्राष्ट्रिय विमानस्थल बन्ने बाटो खुलेको छ । सर्वोच्च अदालतको फैसलाअनुसार पूर्ण क्षमताको अन्तर्राष्ट्रिय विमानस्थल निर्माणको लागि अध्ययन गरी प्रतिवेदन पेस गर्न मन्त्रिपरिषद्को गएको साउन २६ गतेको निर्णयअनुसार विज्ञ समूह गठन भएको हो ।नेपालको दूरगामी विकास तथा आर्थिक समृद्धिको लागि बढ्दो हवाई ट्राफिक धान्न सक्ने पूर्ण क्षमताको अन्तर्राष्ट्रिय विमानस्थल आवश्यक रहेको र यो निजगढमा उपयुक्त हुने विज्ञ समूहको निष्कर्ष छ ।प्रतिवेदनअनुसार पूर्ण क्षमताको अन्तर्राष्ट्रिय विमानस्थलका लागि उपयुक्त ठाउँ काठमाण्डौ–तराई द्रुतमार्ग र पूर्व–पश्चिम राजमार्गसँगै जोडिएको पसाहा नदी र बकैया नदी बीचको झण्डै ९ हजार हेक्टर क्षेत्रफल भित्रको झण्डै ४ हजार हेक्टर क्षेत्र उपयुक्त रहेको छ । रुख कटानी तथा वातावरणीय क्षति घटाउन सर्वोच्च अदालतको आदेशलाई ध्यानमा राखेर एअरपोर्ट सिटीको अवधारणालाई पूरै त्याग्नुपर्ने सुझाव विज्ञ समूहले दिएको छ ।पर्सा राष्ट्रिय निकुञ्जको विस्तारित क्षेत्रभित्र हात्तीको प्रमुख जैविक मार्ग रहेको भए पनि त्यो विमानस्थलभित्र नपर्ने र ठूला चराहरुको जोखिमपूर्ण आवतजावत पनि नहुने प्रतिवेदनमा भनिएको छ । प्रधानमन्त्री देउवाले प्रतिवेदन बुझ्दै विमानस्थल निर्माणमा ढिलाइ नगर्ने बताउनुभयो ।

Leave a Reply