पुष्पराज खतिवडा
बारा,जनताले सरकारी कार्यालयबाट पाउने सेवालाई प्रभावकारी र जनमैत्री बनाउन नेपाल सरकारका गृहमन्त्री रमेश लेखकले प्रमुख जिल्ला अधिकारी सहितका कार्यालय प्रमुखहरुलाई निर्देशन दिनुभएको छ ।शनिवार तराई यातायात व्यवसायी संघ सिमरा, बाराको १८औं बार्षिक साधारणसभालाई सम्बोधन गर्दै मन्त्री लेखकले सरकारी कार्यालयहरुकोसेवाको अबका दिनमा आलोचना नहुने गरी भोलिबाटै सेवाग्राहीलाई अनुभुति हुनेगरीसुधार गर्न कर्मचारीहरुलाई निर्देशन दिनुभयो ।

“चारदिन दौडिएपछिकागज नपुगेको भनेर जनताले दुःख पाउनु भएन । प्रत्येक सरकारी कार्यालयमा निःशुल्क फोटो कपीसहितका कागजी सेवा दिनेगरी सेवाग्राही पस्ने ढोकाको छेउमा सहजकर्ताको व्यवस्था गर्नुस् । चिया पसल धाउन नपरोस्,” उहाँले निर्देशन दिनुभयो । उहाँले यातायात व्यवसायीका समस्याका बारेमा आफू जानकार रहेको भन्दै समस्या समाधानमा सहकार्य गर्ने बताउनुभयो ।

“चेकजाँचका नाममा दुःख पाएको तपाईहरुको गुनासो जायज छ । म आजैबाट कम गर्न भनौंला । तर तपाईहरुले अबैध तस्करी र ओसार पसार गर्नु पनि भएन । हामी त्यसो हुन दिँदैनौ भन्ने ग्यारेन्टी गर्नुस् । म वातावरण सुधारका लागि आवश्यक सहजीकरण गरौंला ।” गृहमन्त्री लेखकले भन्नुभयो ।समृद्धि र सुशासन सरकारको पहिलो प्राथमिता रहेको बताउनुभएका मन्त्री लेखकले देशमा हाल दुव्र्यवसनी, दुर्घटना र आत्महत्या जस्ता विषय जटिल समस्याको रुपमा रहेको बताउनुभयो ।

उहाँले यी सबै कुरा नियन्त्रण गर्न राज्य, राज्यका शक्ति र व्यवसायीहरुको उत्तिकै दायित्व छ भन्दै जिम्मेवार बनिदिन यातायात व्यसायीहरुसँग आग्रह गर्नुभयो । “ माथि उल्लेखित समस्या यातायातसँग नजिकका विषय हुन् । यसको रोकथाम मिलेर गरौं ।” मन्त्री लेखकले भन्नुभयो ।राप्रपा,दुर्गा प्रसाई र रवी लामिछानेप्रति इङ्गित गर्दै गृहमन्त्री लेखकले राज्य नियम कानुनने चल्ने बताउनुभयो । “कानुनभन्दा माथि व्यक्ति बस्ने । उसले गल्ती गर्दा समेत बोल्न नपाउने । अब कहिल्यै त्यस्तो हुदैन । कानुनभन्दा माथि कोहीछैन गल्ती गर्ने जोकोही किन नहोस् कारबाही ।” उहाँले भन्नुभयो ।

उहाँले त्यसकालागि लोकतान्त्रमा कसैले आवाज उठाउँदैमा व्यवस्था परिवर्तन हुने कुरा संभव नरहेको बताउनुभयो ।
कार्यक्रममा मधेश प्रदेश सरकारका अर्थमन्त्री सुनिलकुमार यादव, संघीय सरकारका पूर्वमन्त्री फरमुल्लाह मंसुर, संघिय सांसद कृष्णकुमार श्रेष्ठ, अच्युत मैनाली, प्रदेश सभा सदस्य देवनारायण चौधरी, यातायात व्यवसायी महासंघका महासचिव राजजेन्द्र बानियाँ लगायतको सहभाागिता थियो ।

संघको बार्षिक साधारणसभाका अवसरमा दोस्रो तराई यातायात सक्रिय पत्रकारिता पुरस्कार कान्तिपुर टेलिभिजनका पर्सा सम्वाददाता उपेन्द्र ठाकुरलाई प्रदान गरिएको छ । यसअघि उक्त पुरस्कार कारोबार दैनिकका बारा सम्बाददाता प्रकाश लम्सालले पाउनुभएको थियो । तराई यातायात व्यवसायी संघ सिमरामा हाल एकहजार ५ सय जना व्यवसायी आवद्ध छन । संघमा २ हजार पाँच सय यात्रुवाहक बसबाहेक ठुला साना सवारी साधन आवद्ध छन् । संघले व्यवसायी साझेदारमार्फत देशभरि सेवा दिँदै आएको संघका महासचिव अर्जुन अधिकारीले बताउनुभयो ।
कार्यक्रम संघका अध्यक्ष ओमकृष्ण कार्कीको अध्यक्षतामा सम्पन्न भएको हो ।

Leave a Reply