निजगढ,निजगढ नगरपालिका वडा नं. ११ स्थित रतनपुरी स्वास्थ्य चौकीमा हिजो क्षय रोग लागेका शंकास्पद बिरामीहरुको पहिचानका लागि क्षयरोग स्कृनिङ क्याम्प आयोजना गरिएको छ ।विश्व क्षयरोग दिवसको अवसरमा नगरपालिकाको स्वास्थ्य शाखाले “हो ! हामी क्षयरोग अन्त्य गर्छौं” भन्ने मुल नाराका साथ शुक्रवार दिवस मनाएको हो । निजगढ नगरपालिकालाई पूर्णरुपमा क्षयरोग निवारण गरी क्षयरोग मुक्त नगरपालिका घोषणा गर्ने अभियान अन्तर्गत उक्त कार्यक्रम गरिएको हो । कार्यक्रममा नगरपालिकाका उपप्रमुख सोममाया थिङ्ग, ११ नम्बर वडाका अध्यक्ष सहइया गुरो, स्वास्थ्यकर्मीहरु, स्थानीय स्वयंसेविकाहरु र समाजसेवीहरुको उपस्थिति रहेको थियो ।यसैबीच बिश्व क्षयरोग दिवसको अवरमा नेपाल क्षयरोग निवारण संघले कलैया प्रादेशिक अस्पताल कलैयामा शुक्रवार फलफूल वितरण गरेको छ ।कलैयास्थित प्रादेशिक अस्पतालमा संघले ५० जाना बिरामीहरुलाई फलफूल वितरण गरेको हो । फलफुल कार्यक्रमका प्रमुख अतिथि बारा क्षेत्र नम्बर ३ ख का प्रदेश सभा सदस्य महमम्द समिरले क्षय रोगीका बिरामीहरुलाई नियमित औषधी सेवन गर्न सुझाव दिनुभयो ।कार्यक्रममा अस्पतालका निमित्त मेसु बिकेश पाण्डे, क्षयरोग निवारण सस्था बाराका अध्यक्ष सुरेश मोदक, नेपाल स्काउटका भरत साह, नागरिक समाजका अगुवा उमेशलाल दास, संघका सदस्यहरु भरत मल्ल, जलन्धर यादव, बिकी साह लगायतको उपस्थिति रहेको थियो ।फलफुल वितरण अघि संघले कलैया बजारमा प्रभात फेरि कार्यक्रमको आयोजना गरेको थियो ।



















