कृष्ण मोहन साह
सेढवा,पर्साको विन्दवासिनी गाउँपालिकाको न्यायिक समितिको कार्यालयको उद्घाटन गरिएको छ । गाउँपालिका उपप्रमुख ज्योतीदेवी चौरसिया र जिल्ला समन्वय समितिका उपप्रमुख पुरनप्रसाद कुर्मीले सोमवार संयुक्त रूपमा कार्यालयको उद्घाटन गर्नुभएको हो ।

कार्यालय उद्घाटनपछि उपप्रमुख चौरसियाले सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै आर्थिक वर्ष २०८०÷०८१ मा न्यायिक समितिमा ८८ वटा मुद्दा दायर भएको र त्यसमध्ये ४५ वटा मुद्दाहरू टुंग्याएको बताउनुभयो । न्यायिक समितिमा परेका मुद्दमध्ये अधिकांश आपसी झैझगडा, जग्गाको लेनदेन, महिला हिँसा, कुटपिट जस्ता घटनासंग सम्बन्धित रहेको जानकारी दिनुभयो ।

आफु निर्वाचित भएर आएपछि गाउँपालिकामा परेका मुद्दाहरुको बारेमा छलफल न्यायिक समितिको छुट्टै कार्यालय बनाउनका लागि पहल गरेको र आज कार्यालयको. उद्धाटन गर्न पाउँदा आफूलाई खुशी लागेको बताउदै उहाँले अब समितिको काम सम्पादन गर्न सजिलो हुने विश्वास पनि व्यक्त गर्नुभयो ।

उपप्रमुख चौरसियाले समितिमा परेका अधिकांश उजुरीहरु गाउँपालिकामै समाधान गर्ने गरेको पनि बताउनुभयो । उहाँले भन्नुभयो, ‘गाउँपालिकामा श्रीमान र श्रीमतीबीचको झैझगडा, रकम लेनदेन, जग्गा जमीन र महिला हिँसाका उजुरीहरु आउँछन्, उहाँले भन्नुभयो, सकभर सम्झाई बुझाई गरेर पठाउछौं ।’ वादी र प्रतिवादी दुबै पक्षलाई पालिकामा नै बोलाएर छलफलमार्फत आपसी सहमतिमा समस्याको समाधान गरिने उहाँले बताउनुभयो । अधिकार क्षेत्रभन्दा बाहिरको मुद्दामा भने सम्बन्धित निकायमा नै जान सल्लाहा दिने गरेको पनि उहाँले जानकारी दिनुभयो ।

कार्यालय उद्धाटन कार्यक्रममा गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत राकेश ओझा, न्यायिक समितिका सदस्य प्रेम मुखिया बिन, अधिवक्ता रामनाथ कुशवाहा, नरेश चौहान ,स्थानिय प्रहरी, न्यायिक समितिका कर्मचारी कोशल्या साह, गाउँपालिका कर्मचारीहरु, सञ्चारकर्मी लगायतको उपस्थिति रहेको थियो ।पर्सा जिल्लामा स्थानीय निकायमा न्यायिक समितिको छुट्टै इजलास संचालन गर्ने बिन्दवासी दोस्रो पालिका हो । वीरगञ्ज महानगरपालिकाले यसअघि नै न्यायिक समितिको कार्यालय सञ्चालन गर्दैआएको छ ।

Leave a Reply