वीरगञ्ज,उपराष्ट्रपति रामसहाय प्रसाद यादवले धर्म र अध्यात्मका बारेमा बुझ्न सके जीवन सार्थक हुने बताउनुभएको छ ।
वीरगञ्ज महानगरपालिका वडा नम्बर १४ पिपरामा आइतवारदेखि सुरु भएको श्री सीताराम नाम संकीर्तन महायज्ञ १०८ कुंज एवम् ९ दिवसीय श्री विष्णु महायज्ञको शुभारम्भ समारोहलाई सम्बोधन गर्दै उहाँले महायज्ञले मानव–मानवबीचमा शान्ति, सुव्यवस्था, सहिष्णुता तथा आपसी भाइचारा जगाउने बताउनुभयो ।

उहाँले भन्नुभयो, ‘महायज्ञले मानवमानव बीच शान्ति, सुव्यवस्था, धार्मिक सहिष्णुता, भाइचारा र स्नेहको अतुलनीय सन्देश प्रवाह गर्ने विश्वास लिएको छु । सनातनी धर्म ग्रन्थमा भएका उपदेशहरु अध्ययनसँगै पालना गर्नुपर्ने आवश्यकता रहेको छ । यसले परस्पर सहयोगी भावलाई सुदृढ र सबल बनाउनुका साथै सुख र खुशीको महसुस गराउँछ ।’

महायज्ञमा हुने विभिन्न क्रियाकलापले मानवलाई अध्यात्मिक क्षेत्रको बारेमा बुझ्न मद्दत गर्ने बताउँदै उहाँले यसलाई मानवजीवनमा आत्मसाथ गर्न पनि आग्रह गर्नुभएको छ । महायज्ञमा जानकी मन्दिरका १०८ श्री जगतनन्दन दास महाराज पगला बाबाले कथा वाचन गर्नुहुने छ ।

महायज्ञ व्यवस्थापन समितिका संयोजक अनिलकुमार रुंगटाको अध्यक्षतामा भएको महायज्ञ शुभारम्भ समारोहमा पर्सा क्षेत्र नम्बर १ का प्रतिनिधि सभा सदस्य प्रदीप यादव, क्षेत्र नम्बर २ का प्रतिनिधि सभा सदस्य अजय चौरसिया, प्रदेश सभा सदस्य जनार्दन सिंह क्षेत्री लगायत विभिन्न राजनीतिक दलका प्रमुख एवम् प्रतिनिधि, उद्योगी व्यवसायी, सञ्चारकर्मी लगायतको उपस्थिति रहेको थियो ।कार्यक्रमको सहजीकरण सञ्चारकर्मी उज्जवल शर्माले गर्नुभएको थियो ।

Leave a Reply