सिमरा,नेपाल आयल निगमले मोतिहारी–अम्लेखगञ्ज पेट्रोलियम पाइपलाईको दोस्रो चरणको काम डेढ महिनाभित्र सम्पन्न गर्न निर्देशन दिएको छ ।अम्लेखगञ्ज डिपोको संयुक्त रूपमा स्थलगत अनुगमनपछि नेपाल आयल निगम र भारतीय आयल निगमका प्रतिनिधिहरूले टोलीले तोकिएको समय सीमाभित्र काम सम्पन्न नहुने देखेपछि ठेकेदार कम्पनीलाई यस्तो निर्देशन दिएको हो ।
पाइपलाईको दोस्रो चरणको काम यही मार्चभित्र सम्पन्न गर्नुपर्ने सम्झौतामा उल्लेख छ । आयोजना सुरु भएको १४ महिनामा ६० प्रतिशत मात्रै काम सम्पन्न भएको छ, बाँकी ४० प्रतिशत काम आगामी मार्चभित्र सम्पन्न गर्न भने सजिलो छैन ।आयल निगम अम्लेखगञ्ज डिपोका प्रमुख विनितमणि उपाध्यायले रातदिन नभनीतोकिएको समयभित्र काम सम्पन्न गर्न भारतीय आयल निगम र नेपाल आयल निगमको केन्द्रीय टोलीले ठेकदार कम्पनीलाई निर्देशन दिएको बताउनुभयो । उपाध्यायले भन्नुभयो ‘अहिले ठेकदारले बिहान ८ बजेदेखि साँझ ६ बजेसम्म काम गर्दै आएका छन्, अव यही गतिमा काम गर्दा मार्च अन्तिमसम्ममापनि सक्न गाह्रो हुन्छ ।’
अनुगमनको क्रममा भारतीय आयल निगमका कन्ट्री मेनेजर निरुपम रायजादा, आईओसीका प्रोजेक्ट मेनेजर धर्बेन्द्र कुमार सिंह, नेपाल आयल निगमका नायब कार्यकारी निर्देशक दीपक बराल लगायतको सहभागिता रहेको थियो ।पाइप लाइनको दोस्रो चरणको पूर्वाधार निर्माणको क्रममा २ अर्ब १४ करोड भारतीय रुपैयाँ लगानी हुने निगमले जनाएको छ । जसमध्ये ६० करोड भारतीय रुपैयाँ भारतीय आयल कर्पोरेसनको र १ अर्ब ५४ करोड भारतीय रुपैयाँ नेपाल आयल निगमको लगानी रहेको छ ।
भारतीय आयल निगमले पाइपलाईको दोस्रो चरणको आइओसीले गर्नुपर्ने सम्पूर्ण काम टेन्डर प्रकियाबाट लिखिता इन्फ्रास्ट्रक्चर कम्पनीलाई दिएको छ । हाल अम्लेखगञ्ज डिपोमा पेट्रोलियम पदार्थ भण्डारणको लागि ४ वटा ट्याङ्की, २ वटा फायर वाटर ट्याङ्की निमार्णको काम भइरहेको छ ।आयोजना अन्तर्गत नेपाल आयल निगमको तर्फबाट ५०–५० लाख लिटरको २ वटा ट्याङ्की निर्माण गर्दै छ जसमा एउटा पेट्रोल र अर्कोमा डिजेल भण्डारण गरिनेछ ।
त्यस्तैगरी आईओसीले ४१–४१ लाख लिटरको क्षमता भएको २ वटा पेट्रोलको ट्याङ्की निर्माण गरेको छ । साथै अहिले अम्लेखगञ्ज डिपोभित्र आन्तरिक पाइप बिछ्याउने काम धमाधम भइरहेको छ ।मोतिहारी–अम्लेखगञ्ज पेट्रोलियम पाइप लाइनको पहिलो परियोजना अन्तर्गत २०७६ भदौदेखि पाइपलाइनबाट डिजेल आयात भइरहेको छ । दोस्रो चरणको काम सन् २०२२ को डिसेम्बरदेखि सुरु भएको हो । तोकिएको समयभित्र काम सम्पन्न भए अगामी मार्च भित्र पाइपलाइनबाट पेट्रोल र मट्टितेल आयात हुने निगमले जनाएको छ ।