कलैया,बारा प्रहरीले शुक्रबार बिहान भन्सार छलीका फुटबल खेल्ने जुत्ता बरामद गरेको छ ।बिश्रामपुर गाउँपालिका ५ ईटियाहीबाट प्रहरीले ७२ हजार मूल्य बराबर फुटबल खेल्ने जुत्ता बरामद गरेको हो ।मुसहर्वा प्रहरी चौकीबाट प्रहरी सहायक निरीक्षक (असई) सुरेन्द्र तामाङको नेतृत्वमा खटिएको गस्ती टोलीले बलिरामपुर चोक नजिकै ती सामानहरू बरामद गरेको हो ।
प्रहरीका अनुसार भारतबाट नेपालतर्फ मोटरसाइकलमा जुत्ता बोकेर ल्याउँदै गरेको अवस्थामा प्रहरी देख्नेबित्तिकै चालकले बोरा फालेर मोटरसाइकलसहित भागेका थिए ।बोरा खोलेर जाँच गर्दा त्यसभित्र फुटबल खेल्ने जुत्ता फेला परेको र त्यसको अनुमानित मूल्य करिब ७२ हजार रुपैयाँ रहेको प्रहरीले जनाएको छ ।हाल बरामद गरिएका सामानहरू मुसहर्वा प्रहरी चौकीमा सुरक्षित रूपमा राखिएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।



















