सिमरा,सुर्य नेपाल प्रा.लि.ले आफ्नो लागतमा निर्माण गरेको बर्थिङ सेन्टर भवन शुक्रवार जीतपुरसिमरा उपमहानगरपालिकालाई हस्तान्तरण गरेको छ ।
करिब ६२ लाखको लागतमा निर्माण भएको पाँचकोठे भवन एक कार्यक्रमका बीच उपमहानगरपालिकालाई हस्तान्तरण गरिएको हो । उद्योगका व्यवस्थापक सुरेश काजी श्रेष्ठले भवनको चाबी नगर प्रमुख राजन पौडेललाई हस्तान्तरण गर्नुभएको हो । नगर प्रमुख पौडेलले वडाध्यक्ष सुनिल गुप्ता र वडाध्यक्ष गुप्ताले बर्थिङ सेन्टरका प्रमुख प्रविण झालाई चाबी हस्तान्तरण गर्नुभएको थियो ।
सुर्य नेपालले हस्तान्तरण गरेसंगै नवनिर्मित भवनको स्वामित्व उपमहानगरपालिकाले प्राप्त गरेको छ । गत असार ७ गते शिलान्यास गरिएको भवन पाँच महिनामा निर्माण सम्पन्न भएको हो । जीतपुरमा रहेको बर्थिङ सेन्टर भवन जिर्ण भएपछि सुर्य नेपालले सामाजिक उत्तरदायित्वअन्तर्गत भवन निर्माण गरेको हो ।
जीतपुरसिमरा नगर उद्योग वाणिज्य संघको निवर्तमान अध्यक्ष संजय साहको नेतृत्वमा रहेको कार्यसमितिले भवन निर्माणका लागि सुर्य नेपालसंग पहल गरेको थियो । भवन हस्तान्तरण कार्यक्रममा नगर प्रमुख पौडेल, उपप्रमुख भोलाप्रसाद अधिकारी, प्रमुख प्रशासकीय अधिकृत चेतकुमार पोखरेल, वडाध्यक्ष गुप्ता, जीतपुरसिमरा नगर उद्योग वाणिज्य संघका अध्यक्ष मोहन शर्मा लामिछाने, निवर्तमान अध्यक्ष साह, उपमहानगरपालिकाको स्वास्थ्य शाखाका प्रमुख रवि भाष्कर, सुर्य नेपालका मानव तथा संसाधन विभागका सरविन श्रेष्ठ, सुरक्षा प्रमुख यज्ञबहादुर आलेलगायतको उपस्थिति रहेको थियो ।
















