वीरगन्ज, १८ भाद्र/ वीरगञ्ज भन्सार नाका भएर देशमा सबैभन्दा बढी वस्तु आयात हुँदै आउनुका साथै नेपालले केही वस्तु निर्यातसमेत गर्दै आएको छ।
वीरगञ्ज नाका भएर ०७९/८० को साउनमा नेपालले विदेशमा ४ अर्ब ४५ करोड २९ लाख १० हजार बराबरको वस्तु निर्यात गरेको छ।
वीरगञ्ज भन्सार कार्यालयको तथ्यांकअनुसार साउनमा यो नाका भएर प्रशोधित तेल, फलफूलको जुस, जमोठ कपडा, बत्तिसा त्रिफला, पिना, सेन्थेटिक यार्नलगायत वस्तु विदेशमा नेपालले निर्यात गरेको छ।
नेपालले वीरगञ्ज नाका भएर साउनमा निर्यात गरेका मुख्य १० वस्तुमध्ये सबैभन्दा बढी एक अर्ब ७१ करोड ४५ लाख ६९ हजार बराबरको प्रशोधित पाम तेल, एक अर्ब ६ करोड ३९ लाख ५४ हजारको भटमासको प्रशोधित तेल, ३१ करोड ७३ लाख ४२ हजार बराबरको फलफूलको जुस, ३० करोड ८० लाख ९० हजारको जमोठ कपडा, १७ करोड १० लाख १४ हजार बराबरको बत्तिसा, त्रिफला, कबाज, च्यबनप्रास रहेको वीरगञ्ज भन्सार कार्यालयले जारी गरेको तथ्यांकमा जनाइएको छ।
यसैगरी, नेपालले विदेशमा १३ करोड १३ लाख ५९ हजार रुपैयाँ बराबरको सेन्थेटिक यार्न, १२ करोड ७२ लाख ६ हजार बराबरको पिना, ९ करोड ४८ लाख ३८ हजारको होमियोपेथिक, शुद्ध आयुर्वेदिक र युनानी औषधिका कच्चा पदार्थ, ५ करोड ६७ लाख ७९ हजारको अन्य कपडा (उनी, सुती, टेरिकटन बाहेकका), ३ करोड ५८ लाख ३३ हजारको स्पोर्ट सुज–सेन्थेटिक सुज निर्यात गरेको छ।
यीबाहेक अन्य वस्तुमा २ करोड ३२ लाख ९२ हजारको प्लाष्टिकका बिर्को ढकनी, २ करोड ७० लाख ५१ हजार बराबरको उनी, गलैंचा, कार्पेट, २ करोड ३३ लाख ५ हजारको तयारी कपडा, एक करोड ६४ लाख २७ हजारको सिआरसिट, एक करोड ५५ लाख १८ हजारको प्लास्टिकको बोतल निर्यात गरेको छ।
यसैगरी, एक करोड ५४ लाख ११ हजारको लिड सिसा इन्गट, एक करोड ४६ लाख २९ हजारको सूर्यमुखीको प्रशोधित तेल, एक करोड ३७ लाख ४७ हजारको कपडाको बोरा झोला, एक करोड १६ लाख ७८ हजारको घण्टी र एक करोड १३ लाख ९२ हजारको राँगा भैंसीको तयारी छाला नेपालले वीरगञ्ज भन्सार नाका भएर विदेशमा निर्यात गरेको छ।


















