राजकुमार यादव

रौतहट,रौतहटको देवाही गोनाही नगरपालिका वडा नम्बर १ का वडा अध्यक्ष शेख नुरुल्लाहोदाले नगर प्रमुख धर्मेन्द्र पटेलले आफुमाथि लगाएको आरोप निराधार भएको बताउनु भएको छ ।

उपभोक्ता समितिमार्फत लिएको ५ लाख घुस रकमसहित अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीव्दारा समातिएका नगर प्रमुख पटेल र उनका समर्थहरुले देवाही गोनाही नगरपालिका वडा नम्बर १ का वडा अध्यक्ष शेख नुरुल्लाहले षडयन्त्र गरी आफूलाई फसाएको आरोप लगाउदै आएका छन । वडा अध्यक्ष नुरुल्लहोदाले नगर प्रमुख पटेलको आरोप कपोकल्पित, भ्रामक एवं झुटो भएकोे दावी गर्नु भएको छ ।

छोरीको विहेमा सापटी लिएको ५ लाख रुपैया फिर्ता दिन जाँदा वडा अध्यक्ष नुरुल्लाहले अख्तियारलाई बोलाएर घुस लिएको भनी आरोप लगाई आफूलाई फसाएको मेयर पटेलले आरोप लगाउदै आएका छन ।

आफुमाथि सापटी पैसा लिएको आरोप लागेपछि वडा अध्यक्ष नुरुल्लाहले सोमवार पत्रकार सम्मेलनको आयोजना गर्दै मेयर पटेलसँग आफुले एक रुपैया पनि सापटी नलिएको दाबी गर्नु भएको छ ।

आफुलाई निर्दोष सावित गर्न मेयर पटेलले आफुमाथि निराधार आरोप लगाएको उहाँले प्रष्ट पार्नु भएको छ ।

वडा नम्बर १ को वडा कार्यालय भवन निर्माणको लागि नगरपालिकाबाट २० लाख रुपैया बजेट विनियोजित भएको थियो । सो २० लाख रुपैयाको भवन निर्माण कार्य सम्पन्न भएपछि उक्त योजना बापत उपभोक्ता समितिसँग मेयर पटेलले ५ लाख रुपैया कमिशन मागेको वडा अध्यक्ष नुरुल्लाहको दावी छ । उपभोक्ता समितिसँग कमिशन नलिन आफुले मेयर पटेललाई पटक पटक आग्रह गर्दा पनि नमानेको उहाँले बताउनुभयो ।

उहाँका अनुसार कमिशन पनि लिने र कसैलाई थाहा पनि हुन नदिन योजनामा मेयर पटेलले आफना सहयोगी अशोक पटेलको नाममा चेक काटन लगाएका थिए ।

सोही कमिशन वापतको रकम दिन जाँदा उनलाई अख्तियारको टोलीले समातेको वडा अध्यक्ष नुरुल्लाहाले बताउनुभयो ।

सोही कार्यक्रममा वडा नम्बर ६ का वडा अध्यक्ष अनिलकुमार झाले पनि विकास निर्माणको नाममा मेयर पटेलले नगरपालिकामा ब्रहमलुट मच्चाएको आरोप लगाउनुु भएको छ । विभिन्न योजना सञ्चालनको नाममा पटेलले करोडौं भ्रष्टाचार गरी अकुत सम्पति आर्जन गरेको वडा अध्यक्ष झाले बताउनुभयो ।

करोडौं भ्रष्टाचार गरी अकुत सम्पति जोडन सफल मेयर पटेललाई निष्पक्ष रुपमा छानबिन गरी कारबाहकिो दायारामा ल्याउन पनि अध्यक्ष झाले अख्तियारसँग अनुरोध गर्नुभयो । योजना सञ्चालनबापत मेयर पटेलले उपभोक्ता समितिसँग खुल्लमखुल्ला घुस रकम मागेका कारण अख्तियारले पक्राउ गरेको उहाँले बताउनुभयो । भ्रष्टाचारीलाई कारबाही नगरेसम्म गाउँ, समाज र नगरमा विकास हुन नसक्ने भन्दै झाले अख्तियारले कसैको दबाव वा प्रभावमा नपरी निष्पक्ष छानविन गरी कारबाही गर्नु पर्ने बताउनुभयो । अख्तियारले कारबाही नगरे आफूहरु बाध्यभएर आन्दोलनमा उत्रिने वडा अध्यक्ष झाको भनाइ थियो ।

अख्तियारको टोलीले गत शनिवार घुस रकमसहित मेयर पटेलसहित देवाही गोनाही नगरपालिका योजना शाखा प्रमुख मुकेश पटेल, सहलेखापाल प्रदिप यादव र मेयर पटेलका सहयोगी अशोक पटेललाई नियन्त्रणमा लिएको थियो । पक्राउ परेकालाई नियन्त्रणमा राखेर अख्तियारले हाल सबैमाथि छानविन गरिरहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here