काठमाण्डौ – प्रधानमन्त्री एवम् नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले गुटबन्दीले पार्टीलाई कमजोर बनाउने भएकाले गुटबन्दी गर्नेहरूलाई पार्टीमा ठाउँ नभएको बताउनुभएको छ ।ललितपुरको च्यासलमा आइतवारदेखि शुरू भएको केन्द्रीय समितिको बैठकलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले अराजकता र गुटबन्दीलाई पार्टीले प्रश्रय नदिने स्पष्ट पार्नुभएको हो । लोकतन्त्र र अभिव्यक्ति स्वतन्त्रताका नाममा पार्टीलाई कमजोर बनाउनेहरूविरुद्ध निर्मम हुनैपर्ने उहाँको भनाई छ ।
भीम रावल, विन्दा पाण्डे, उषाकिरण तिम्सेना लगायत पछिल्लो समय नेताहरूमाथि भएको कारबाहीलाई सङ्केत गर्दै ओलीले लोकतन्त्रका नाममा गुटबन्दी गरेर भाँडभैलो मच्चाउने प्रवृत्तिले पार्टीलाई बलियो नबनाउने टिप्पणी गर्नुभयो । सार्वजनिक खपत र मिडियामा चर्चा पाउनकै लागि पार्टीका आन्तरिक विषय छताछुल्ल पार्नु उचित नहुने उहाँको धारणा छ ।
पार्टीविरुद्ध भइरहेको दुष्प्रचार रोक्न सबै नेता÷कार्यकर्ता लाग्न तथा प्रमाण र तथ्यसहित विरोधीलाई जवाफ दिन पनि ओलीले निर्देशन दिनुभएको छ । विरोध बढ्यो भनेर चुप लाग्नु समाधानको उपाय नभएको उल्लेख गर्दै उहाँले तथ्यका आधारमा सबै मिलेर जवाफ दिएपछि विरोधी कमजोर बन्ने बताउनुभयो ।ओलीले केन्द्रीय समितिको बैठकमा ४३ पृष्ठ लामो राजनीतिक प्रतिवेदन पनि पेश गर्नुभएको छ ।

Leave a Reply