सिमरा,मोतिहारी–अम्लेखगञ्ज पेट्रोलियम पाइपलाइन परियोजनाको काम तोकिएको समयभित्रै पूरा नहुने देखिएको छ ।
अगामी २ महिनाभित्र (मार्च अन्तिमसम्म) सम्पन्न गर्नुपर्ने परियोजनाको जनवरी अन्तिम सातासम्म ५० देखि ५५ प्रतिशत मात्रै काम भएपछि पाइपलाइनबाट समयमै पेट्रोल आयात हुनेमा आशङ्का उब्जिएको हो ।
यसअघि डिसेम्बरभित्र पूर्वाधार निर्माणको काम सम्पन्न गरेर जनवरी २४ भित्र पाइपलाइनबाट पेट्रोल आयात गर्ने भनिएको सो परियोजनाको म्याद मार्चसम्म थपिएको थियो । तर, ठेकेदार कम्पनीको लापरबाहीको कारण सन् २०२४ को मार्च अन्तिमसम्म पूर्वाधार निर्माणको काम सम्पन्न नहुने देखिएको हो ।

भारतीय आयल निगमसँगको सम्झौता अनुसार पाइपलाइनको दोस्रो चरणको सम्पूर्ण काम लिखिता इन्फ्रास्ट्रक्चरले गरिरहेको छ ।नेपाल आयल निगम अम्लेखगञ्ज डिपोका प्रमुख विनितमणि उपाध्यायले मोतिहारी–अम्लेखगञ्ज पेट्रोलियम पाइपलाइनको दोस्रो चरणको काम तोकिएको समयमै सम्पन्न गर्ने सम्भावना कम भएको स्वीकार गर्नुभएको छ । उपाध्यायका अनुसार निगमले २ महिनाअघि नै ठेकेदार कम्पनीलाई तोकिएको समयमा काम सम्पन्न गर्न सक्ने वा नसक्ने बारेमा जानकारी माग गरेर पत्र पठाएको छ । तर ठेकेदार कम्पनीले भने निगमको पत्रको आधिकारिक रूपमा कुनै जवाफ पठाएको छैन ।

डिपो प्रमुख उपाध्यायले भौतिक पूर्वाधार निर्माणको काम तीव्र गतिमा भए पनि मार्च अन्तिमसम्म काम सम्पन्न हुन गाह्रो हुने बताउनुभयो । अहिलेसम्म ५० देखि ५५ प्रतिशत मात्रै काम सम्पन्न भएकोले बाँकी २ महिनाभित्र परियोजनाको सम्पूर्ण काम सम्पन्न हुनेमा आशङ्का रहेको उहाँले बताउनुभयो । निगमको अम्लेखगञ्ज डिपोमा पेट्रोलियम पदार्थ भण्डारणको लागि ४ वटा ट्याङ्की र २ वटा फायर वाटर ट्यांकी निर्माणको काम भइरहेको छ ।पेट्रोलियम पाइपलाइनको दोस्रो चरणको पूर्वाधार निर्माणको क्रममा २ अर्ब १४ करोड भारतीय रुपैयाँ लगानी हुने निगमले जनाएको छ । जसमध्ये ६० करोड भारतीय रुपैयाँ भारतीय आयल कर्पोरेसनको र १ अर्ब ५४ करोड भारतीय रुपैयाँ नेपाल आयल निगमको लगानी रहेको छ ।

मोतिहारी–अम्लेखगञ्ज पेट्रोलियम पाइपलाइनको पहिलो परियोजना अन्तर्गत २०७६ भदौदेखि पाइपलाइनबाट डिजेल आयात भइरहेको छ । दोस्रो चरणको काम सन् २०२२ को डिसेम्बरदेखि सुरु भएको हो ।निगमले दोस्रो चरणको काम सम्पन्न भएर पाइपलाइनबाट पेट्रोल आयात हुँदा निगमको इन्धन खर्च र ढुवानी भाडा बापत मात्रै प्रतिमहिना १५ करोड वार्षिक १ अर्ब ८० करोड बचत हुने गरेको छ । हाल बारा र आसपासको क्षेत्रको लागि मात्रै बरौनीबाट दैनिक १५ वटा पेट्रोल ट्याङ्कर आउने गरेको छ ।

Leave a Reply