वीरगञ्ज,वीरगञ्जका मेयर राजेशमान सिंहले झुटो विवरण पेश गरी हुँदै नभएको छोरीलाई बाबु बनेर नागरिकता दिलाएको विषयमा जिल्ला प्रहरी कार्यालयले समेत अनुसन्धान अगाडि बढाएको छ ।प्रहरीले जिल्ला प्रशासन कार्यालयलाई नागरिकता लिँदा पेश गरिएको अनुसूची फारम सहितका कागजातहरु पठाउन पत्राचार गरिसकेको छ । वीरगञ्ज महानगरपालिका– ३ निवासी लियाकत अलीले रुबीना श्रेष्ठ र राजेशमान सिंह विरुद्धमा भुठा विवरण पेश गरी नागरिकता र राहदानी लिएको कसूरमा जाहेरी दिएका थिए ।
प्रहरीले प्रशासन कार्यालयबाट २०७५ साउन १३ मा रुबीना श्रेष्ठको नाममा जारी भएको ३४–०१–७५–०४८४७ नम्बरको नेपाली नागरिकताको प्रमाण पत्रको छायाँकपी प्रहरीले माग गरेको छ । यसको साथै नागरिकताको प्रमाण पत्र लिदा पेश गरेको अनुसूची फारम लगायत सो सम्बन्धित सम्पूर्ण कागजातहरुको आवश्यकता परेको हुँदा कार्यालयमा पठाउन पत्राचार गरिएको छ ।प्रहरी उपरीक्षक कोमल शाहले जाहेरी दरखास्त आएपछि अनुसन्धानका लागि नागरिकतासँग सम्बन्धित कागजात प्रशासन कार्यालयबाट माग गरिएको बताउनुभयो ।राजेशमान सिंह नगर प्रमुख बन्नु भन्दा ९ वर्ष अगाडि काठमाडौँमा जन्मिएकी ‘अरुको छोरी’ लाई आफ्नो छोरी बनाई वीरगज्ज महानगरपालिका– ३ बाट जन्मदर्ता बनाएको उहाँमाथि आरोप छ । मेयर राजेशमान सिंहले नागरिकता प्रकरणको अनुसन्धानमा पूर्ण सहयोग गर्ने बताउँदै आउनुभएको छ ।



















