वीरगन्ज,पर्साका उखू किसानले पनि सरकारबाट पाउनु पर्ने अनुदान बापतको रकम अहिले सम्म नपाएको गुनासो गरेका छन् । गएको बर्षको अनुदान रकम सरकारले अहिले सम्म पनि उपलब्ध नगराएको पर्साका उखू किसानहरुले बताएका छन् । पर्सा जिल्लाभरिका उखु किसानहरुलाइ पोहोर सालको अनुदान बापत सरकारबाट पाउनु पर्ने ३० लाख रुपैयाँ अझै पनि किसानहरुले नपाएको नेपाल उखू उत्पादक संघ पर्साका अध्यक्ष असर्फी साहले बताउनुभयो । उहाँले आफूहरुले सरकारबाट ६५ रुपैयाँ प्रतिक्वीन्टल अनुदान पाउने र त्यही रकम जम्मा भएर ३० लाख पुगेको बताउनुभयो । यस्तै आर्थिक बर्ष २०७५÷०७६ सालको सिजनमा बाराको रिलायन्स सुगर मिललाइ पर्साका किसानहरुले बिक्री गरेको उखुको १ करोड रुपैया पनि रिलायन्स सुगर मिलले अहिले सम्म भुक्तानी दिएको छैन । अध्यक्ष साहले २ वर्ष पहिलेकै १ करोड रुपैया रिलायन्स सुगर मिलले अहिले सम्म पनि पर्साका किसानहरुलाइ भुक्तानी नदिएको बताउनुभयो । चालु आर्थिक वर्षको सिजनका लागि अहिले पर्साका कृषकहरुले उखु सुगर मिललाइ दिन शुरु गरिरहेका छन् । यसपाली पनि रिलायन्स र रौतहटमा रहेको बाबा बैजुनाथ सुगर मिलले पर्साका किसानहरुको उखू खरिद गरि क्रसिंग गर्ने सहमति जनाएका छन् । सुगर मिलले उखुको रकम १५ दिन भित्रै भुक्तानी दिनु पर्ने सरकारले बनाएको नियममा उल्लेख छ । तर हरेक वर्ष तोकिएको समयमा सुगर मिलबाट उखुको भुक्तानी नपाएका कारण , उखु खेती प्रति किसानहरुको आकर्षण घट्दै गएको छ । भुक्तानीकै समस्याका कारण पर्सामा पनि यो वर्ष उखू लगाउने कृषकको संख्या घटेको छ ।पर्सा जिल्लामा अघिल्लो बर्ष ४ हजार बिघामा लगाइएको उखू खेती , यसपाली घटेर करिब ३ हजार बिघामा मात्रै सिमित भएको उखू उत्पादक संघ पर्साका अध्यक्ष साहले बताउनुभयो ।

 

Leave a Reply