काठमाण्डौं,भारतीय अर्थमन्त्री निर्मला सीतारमणले नरेन्द्र मोदी सरकारको दोस्रो कार्यकालको अन्तिम बजेट पेस गर्नुभएको छ ।यो बजेटमा करदाताका लागि कुनै नयाँ छुट दिइएको छैन । स्टार्टअपका लागि कर छुट एक वर्षका लागि बढाइएको छ । यस्तै चार करोड किसानलाई बिउबिजन बीमाको फाइदा मिल्ने अर्थमन्त्रीले बताउनुभयो । यसैगरी ७८ लाख सडक व्यापारीलाई ऋण सहायता दिने, सौर्य प्रणालीबाट बत्ती बाल्ने एक करोड परिवारलाई तीन सय युनिट बिजुली निःशुल्क दिने बजेटमा उल्लेख छ ।

भाषणकै क्रममा अर्थमन्त्री सीतारमणले अहिलेसम्म झन्डै एक करोड महिला लखपति बनेको र अब त्यो सङ्ख्यालाई तीन करोड बनाउने लक्ष्य रहेको बताउनुभयो । सरकारले मध्यम आय भएका व्यक्तिले घर किन्न सक्ने योजना ल्याउने उहाँको भनाइ छ ।
अर्थमन्त्री सीतारमणले यस पटक बजेट भाषण झन्डै एक घण्टासम्म पढ्नुभयो । उहाँले सबैभन्दा लामो बजेट भाषण सन् २०२० मा गर्नुभएको थियो, त्यो बेला उहाँले दुई घण्टा ४० मिनेटसम्म बजेट भाषण पढ्नुभएको थियो ।अर्थमन्त्रीको रूपमा निर्मला सीतारमणले मोदी सरकारको छैटौँ बजेट पेस गर्नुभएको हो । यो अन्तरिम बजेट हो । आउँदो मेमा लोकसभा चुनावपछि आउने नयाँ सरकारले आमबजेट पेस गर्नेछ ।

यसैबीच भारतले नेपाललाई दिने अनुदान रकममा १०० करोड भारतीय रुपैयाँ बढाएको छ । अर्थमन्त्री सीतारमणले पेस गरेको अन्तरिम बजेटमा नेपाललाई दिइने अनुदान बढाइएको उल्लेख छ ।यसअघि गत वर्ष फेब्रुअरी १ मा प्रस्तुत २०२३-२०२४ को बजेटमा नेपाललाई ५५० करोड भारतीय रुपैयाँ अर्थात ८ अर्ब ८० करोड नेपाली रुपैयाँ अनुदान सहयोग गर्ने उल्लेख थियो । बजेटमा उक्त रकमलाई परिमार्जन गर्दै ६५० करोड भारु अर्थात १० अर्ब ४३ करोड नेपाली रुपैयाँ पु¥याइएको हो ।दक्षिण एसियाली मुलुकहरूमा भारतले सबैभन्दा बढी मालदिभ्सलाई अनुदान सहयोग गर्ने भएको छ । २०२३÷२०२४ का लागि भारतले मालदिभ्सलाई ७७० करोड भारु अनुदान दिने भएको छ ।

Leave a Reply