पुष्पराज खतिवडा
मनहर्वा,तेस्रो मनहर्वा गोल्डकप अन्तर्गतको चौथों दिनको खेल नवदुर्गा युवा क्लब सिमराले जितेको छ । बागमती युवा क्लब सर्लाहीलाई ५-१ गोल अन्तरमा पछि पार्दै सिमराले खेल जितेको हो ।जितसँगै सिमरा प्रतियोगिताको सेमीफाइनलमा प्रवेश गरेको छ । साविक विजेता समेत रहेको सिमराले बिहिवार दोस्रो सेमीफाइनल खेलमा रिगल हेटौंडा रिसोर्टसँग खेल्ने छ । रिगलले गत आईतवार रौतहट एफ.सी. रौतहटलाई पराजित गर्दै सेमीफाइनल यात्रा तय गरेको थियो ।

सिमराकालागि विदेशी खेलाडी फोफाना र रिचार्डले पालैपालो पाँच गोल गरेका हुन् । खेलको ३२औं मिनटमा सिमराका लागि विदेशी खेलाडी फोडे फोफानाले पहिलो गोल गरेका थिए । उनले खेलको ७६औं र ९३औं मिनटका गोल गर्दै ह्याट्रिक पुरा गरे ।यसैगरी अर्का विदेशी खेलाडी रिचार्डले ३६औं र ४४ औं मिनटका दुई गोल गर्दा सिमराको जितका लागि पाँच गोलको फराकिलो अन्तर कायम भएको थियो ।बागमतीका लागि दोस्रो हाफको ७२औं मिनटमा आशिक स्याङ्गतानले सान्तवना एक गोल फर्काएका थिए । उत्कृष्ठ प्रदर्शन गरेपनि बागमतीका खेलाडीले अवसरको सदुपयोग गर्न सकेका थिएनन् । उनीहरुको खेललाई दर्शकले हुटिँङ्ग गर्दै हौसाईरहेका थिए । यद्यपि गोल गर्न नसक्दा बागमती प्रतियोगिताबाट बाहिरिएको छ ।

मंगलवारको खेलमा नवदुर्गा युवा क्लब सिमराका विदेशी खेलाडी फोडे फोफाना मेन अफ दि म्याच घोषित भए । उनले नगद २ हजार पाँच सय पुरस्कार प्राप्त गरे ।बुधवारको पहिलो सेमिफाइनल खेल आयोजक मौवादेवी यूवा क्लब र वीरगञ्ज यूनाईटेडबीच हुनेछ । मौवा देवी खेल मैदानमा भएको उद्धाटन खेलमा नमस्ते युवा क्लब हरिवनलाई १÷० ले पराजित गर्दै आयोजक अन्तिम चारमा प्रवेश गरेको थियो भने वीरगञ्ज हनामी भरतपुर फुटबल क्लब चितवनलाई टाईब्रेकरमा पराजित गरी सेमीफाइनल पुगेको हो ।

जितपुरसिमरा उपमहानगरपालिकाको समेत आर्थिक सहयोगमा भइरहेको प्रतियोगिताका विजेताले दुई लाख र उपविजेताले एक लाख रुपैया पुरस्कारसहित ट्रफी प्राप्त गर्ने छन् ।सेमीफाईनल खेल हर्न दर्शकले ५० रुपैया र शनिवार हुने फाईनल खेल हेर्न प्रतिदर्शकले एक सय रुपैया तिर्नु पर्ने आयोजकले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here