पुष्पराज खतिवडा
मनहर्वा,बारा क्षेत्र नम्बर १ बाट निर्वाचित संघीय सांसद अच्युतप्रसाद मैनालीलेसाना किसान सहकारीहरुले महिला सशक्तीकरणमा महत्वपूर्ण भुमिका खेलेको बताउनु भएको छ ।जिल्लाको कोल्हवी नगरपालिका वडा नम्बर ६ प्रसौनामा रहेको साना किसान कृषि सहकारी संस्थाको ११औं बार्षिक साधारणसभाको उद्धाटन गर्दै सांसद मैनालीले बुधवार सो कुरा बताउनुभएको हो ।महिलाको क्षमता विकास र चेतना अभिद्धिमा सहकारीको योगदान उल्लेख्य रहेको उहाँको भनाई थियो । ‘एकता, आपसी विश्वास र सुदृढ आर्थिक जीवनले मात्रै सहकारी चल्न सक्छ, सांसद मैनालीले भन्नुभयो, सदस्यहरुबीचको एकता र विश्वासलाई कायम राख्दै महिलाहरुको जीवनस्तर उकास्ने खालका काममा सहकारीले भुमिका खेल्नुपर्छ ।’ उहाँले कृषि पशुपालनका साथै आय आर्जनका काममा कर्जाको सदुपयोग गर्न पनि आग्रह गर्नुभयो । कर्जाको सही प्रयोग गर्नसकेमात्रै पारिवारमा आर्थिक उपलब्धी हाँसिल हुने पनि उहाँको भनाई थियो । उहाँले भन्नुभयो, ‘जव महिला सामाजिक र आर्थिक रुपमा सबल हुन्छन् तब परिवार पनि सफल हुन्छ ।’सांसद मैनालीले दुर्गा प्रसाई जस्ता मानिसको पछाडि लागेर ऋण मिनाह हुने कुरामा नपर्न सहकारीका सदस्यहरुलाई अनुरोध समेत गर्नु भयो ।कार्यक्रममा बोल्दै मधेस प्रदेशसभा सदस्य त्रिलोकीप्रसाद चौधरीले महिलाहरु पुरुषको तुलनामा बढी ईमान्दार हुने बताउनु भयो । ईमान्दार, शिक्षित र विवेकी महिलाको नेतृत्वले सिंगो समाज बदलिन सक्ने उहाँको भनाई थियो ।कार्यक्रममा साना किसान कृषि सहकारी संघ लिमिटेड बाराका अध्यक्ष मिश्रीलाल सहनी, उपाध्यक्ष नयनकला खड्का, कोल्हबी नगरपालिका वडा नम्बर ५ का पूर्ववडा अध्यक्ष पुरनदेव चौधरी, साना किसान कृषि सहकारी संस्था लिमिटेड इनर्वासिराका प्रबन्धक झपेन्द्र बराल लगायतकाले बोल्नु भएको थियो ।सोही कार्यक्रममा सांसद मैनालीले सहकारी संस्थाले कृषि ज्ञानकेन्द्र बाराको ५० प्रतिशत अनुदान सहयोगमा निर्माण गरेको गोदाम घरको समेत उद्धाटन गर्नु भएको थियो । करिब ५० लाखको लागतमा निर्माण सम्पन्न भएको गोदाम घरमा २० हजार बोरा अर्थात ८ सय मेट्रिक टन खाद्यान्न भण्डारण गर्ने क्षमता रहेको छ । गोदाममा संस्थाले हाल ४ हजार ५ सय बोरा धान संचय गरेको बताइएको छ ।९ सय ९२ जना महिला सदस्य रहेको सहकारी संस्थाले उत्कृष्ट कारोबार गर्ने आधा दर्जन सदस्यलाई सम्मान गरेको छ । १७ कारोड ५९ लाख रुपैंयाको कारोबार गर्दै आएको सहकारीले गत आर्थिक वर्षमा गरेको मुनाफा ५५ लाख ६० हजारबाट १५ प्रतिशत लाभाशं वितरण गर्ने निर्णय पनि गरेको छ ।संस्थाकी अध्यक्ष कलावती चौधरीको अध्यक्षता लेखा समिति संयोजक निर्मा अधिकारीको स्वागत र प्रबन्धक जितेन्द्र चौधरीको संचालनमा कार्यक्रम सम्पन्न भएको हो ।



















