निजगढ,इलाका प्रहरी कार्यालय निजगढले शुक्रवार निजगढ नगरपालिका वडा नम्बर १३ को डम्बरपुर क्षेत्रमा लगाइएको अबैध लागुऔषध गाँजा फडानी गरेको छ ।इलाका प्रहरी कार्यालय निजगढका प्रहरी निरीक्षक घनश्याम श्रेष्ठको नेतृत्वमा गएको टोलीले शुक्रवार दिउसो डम्बरपुरको चुरे क्षेत्रको जंगल आसपास ७ कठ्ठामा लगाइएको गाँजा फडानी गरेर नष्ट पारेको हो ।प्रहरीले केही दिन यता निजगढ १२ को कुलिया र १३ को भक्तलाल र डम्बरपुर क्षेत्रमा गाँजा फडानी कार्यलाई तीव्र पार्दैआएको छ ।त्यसैगरी प्रहरीले सिम्रौनगढ नगरपालिकाको खजानीबाट हिजो नै १० कठ्ठा क्षेत्रको गाँजा फडानी गरेको जिल्ला प्रहरी कार्यालय कलैयाले जानकारी दिएको छ । जिल्ला प्रहरी कार्यालयका प्रवक्ता एवंम प्रहरी नायव उपरीक्षक दधिराम न्यौपानेका अनुसार निजगढ र सिम्रौनगढमा गरि प्रहरीले १७ कठ्ठा क्षेत्रमा करिव १५ हजार गाँजाको बोट काटेर नष्ट पारेको हो ।त्यसैगरी बारा प्रहरीले गत महिनामात्रै ८६ जना फरार अभियुक्तहरुलाई पक्राउ गरेको छ । प्रहरीले जिल्ला अदालतबाट सजया फैसला भइ फरार रहदै आएका ९४ जना अभियुक्त मध्ये पुष महिनामा मात्रै ८६ जनालाई पक्राउ गरी जिल्ला अदालत बारामा बुझाएको हो ।



















