निजगढ,जिल्ला ट्राफिक प्रहरी बाराले दुर्घटना न्यूनीकरण गर्न ट्राफिक संकेत बोर्ड र ‘रिफ्लेक्टीभ स्टीकर’ टाँस्ने अभियान शुरु गरेको छ ।चिसो मौसम सुरु भएसँगै बढ्दो हुस्सु र रातिको समयमा भिजीबिलीटी कम हुँदा सडक दुर्घटना हुने भएको सोको न्यूनीकरण गर्न ट्राफिक प्रहरीले बिहीवार निजगढबाट ट्राफिक संकेत बोर्ड र रिफ्लेक्टीभ स्टीकर टाँस्ने अभियान शुरु गरेको हो ।ट्राफिक प्रहरीले पछाडि पट्टीको बत्ति नहुने सवारी साधनको पछिल्लो भागमा टल्किने ‘रिफ्लेक्टिभ स्टिकर’ टाँसेको हो । स्टीकर टल्किने भएकोले टाढैबाट देख्न सकिने हुदाँ दुर्घटनामा कमी आउने प्रहरीको भनाई छ । सडक दुर्घटना न्यूनीकरण गर्न पहिलो चरणमा ट््याक्टर र अटो रिक्सालगायतका सवारी साधन र सडकको पुल तथा संम्भावित दुर्घटना स्थालमा ट्राफिक संकेत बोर्ड लगाईएको जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रहरी प्रमुख रामकुमार महतोले बताउनुभयो । अभियानलाई जिल्लाव्यापीरुपमा विस्तार गरिने निरीक्षक महतोले जानकारी दिनुभयो ।
जिल्ला ट्राफिक प्रहरी कार्यालय निजगढले दुर्घटना न्यूनीकरणका लागि यसअघि पनि विभिन्न अभियानहरु चलाउदै आएको छ । बढ्दो सवारी दुर्घटना न्यूनीकरणका लागि ट्राफिक सम्बन्धी जानकारी गराउने उद्देश्यले सवारी चालकहरुलाई सम्मान गर्दैै सवारी साधन चलाउँदा अनिवार्य रुपमा सिट बेल्टको प्रयोग, हेल्मेटको अनिवार्य प्रयोग, मादकपदार्थ तथा नसाजन्य चिज बस्तुहरु सेवन र तीब्र गतिमा सवारी साधन नचलाउनभन्दै सवारी चालकलाई सचेतना गर्दै आएको हो ।त्यसैगरी बढी दुर्घटना हुने स्थानको पहिचान गरी न्यूनीकरणको लागि ट्राफिक लाइट र लेन अनुशासन तथा डिभाइडर राख्ने कार्यलाई पनि निरन्तरता दिँदै आएको उहाँले बताउनुभयो ।



















