कारण जे भएपनि हत्या भनेको जघन्य अपराध हो । हत्या अपराध भएकाले यस्ता घटनाहरु कुनै पनि समाजका लागि जायज हुनै सक्दैनन् । व्यक्तिगत हत्याको श्रृखला बारा र पर्सामा दशकअगाडि देखि चल्दै आएको थियो तर पछिल्लो केही वर्षबाट भने यसमा केही कमी आएको महशुस यहाँका नागरिकहरुले गरिरहेका थिए । यद्यपि शुक्रवार फेरि बारामा भएको एक हत्याको घटनाले सबैलाई त्रसितसहित स्तव्ध पनि बनाइदिएको छ । कलैयास्थित राजाराम मोहन विक्रम क्याम्पसका प्रमुखको हत्याले सर्वसाधारणलाई त्राहिमाम बनाउनुको साथै बाराको शान्ति सुरक्षाको सवालमा चुनौति पनि थपिदिएको छ ।
त्यसो त करिब ६ महिनाअगाडि पनि कलैयामा एक निजी विद्यालयका संचालकमाथि गोली हानेर हत्या गरिएको थियो । कारण जे होस्, हत्यामा संलग्नहरुलाई प्रहरीले पक्राउ गरे पनि यसमा बारा प्रहरी विवादरहित भने हुन सकेन । हत्या हिंसा त स्वीकार्य हुने कुरै भएन । जुनसुकै हिसावले भने पनि यो अपराध हो । तैपनि समाजमा यस्ता अपराध भने भइरहेका हुन्छन् । क्याम्पस प्रमुख हरिभूषण कुशवाहाको हत्यारालाई पनि प्रहरीले पक्राउ गर्नेछ । तर यो चैं  विवादरहित होस् बारा प्रहरी यसतर्फ पनि सचेत बन्न आवश्यक छ । कुशवाहाको हत्या जे कारणले भए पनि त्यो सामाजिक र कानुनी हिसावले दण्डनीय नै हो । फेरि यस्ता अपराध समाजमा नहोस् भन्नका लागि पनि यस्ता घटनामा संलग्नहरुलाई हदैसम्मको कारबाही हुन आवश्यक छ । अनि मात्रै यस्ता अपराधहरु समाजमा घटनेछन ।

Leave a Reply