वीरगञ्ज,वीरगञ्ज– पथलैया औद्योगिक कोरिडोरमा पछिल्लो समय नेपाल विद्युत् प्राधिकरणले अघोषित लोडसेडिङ गरेको भन्दै उद्यमी व्यवसायीहरु चिन्तित बनेका छन ।पूर्वसूचना बिना नै विद्युत् कटौति हुन थालेपछि औद्योगिक उत्पादनमा नराम्रो असर परिरहेको भन्दै वीरगञ्ज उद्योग वाणिज्य सङ्घले विज्ञप्ति निकालेर तत्काल समस्या समाधानका लागि सरकार र प्राधिकरणसंग आग्रह गरेको छ ।

वीरगञ्ज उद्योग वाणिज्य सङ्घका अध्यक्ष अनिलकुमार अग्रवालले जारी गरेको विज्ञप्तिमा पछिल्ला वर्षमा नेपाल विद्युत् प्राधिकरणद्वारा “लोडसेडिङमुक्त औद्योगिक क्षेत्र” र “उज्यालो नेपाल” जस्ता नाराहरूले उद्योगी, व्यवसायी, र सर्वसाधारणमा उत्साह थपे पनि हाल बढ्दो विद्युत् कटौति र गुणस्तरीय विधुत आपूर्ति अभावले उद्योग क्षेत्र निराश बनेको उल्लेख छ ।

विज्ञप्तिमा औद्योगिक क्षेत्रका धेरै उद्योगहरू हाल आफ्नो निश्चित उत्पादन क्षमताभन्दा निकै कम क्षमतामा सञ्चालन भइरहेका छन् । बारम्बारको विद्युत् कटौती र २४ घण्टामा १४–१५ पटकसम्म ट्रिपिङ हुँदा औद्योगिक उपकरण बिग्रने र कच्चा पदार्थ खराब हुने समस्या देखिएको छ । “विद्युत् नियमित आपूर्ति नहुँदा उद्योगहरू प्रतिस्पर्धात्मक क्षमताबाट पछि पर्दै गइरहेका छन ।” विज्ञप्तिमा भनिएको छ ।

सङ्घले बारम्बारको लोडसेडिङका कारण डिजेल जेनरेटर प्रयोग गरी उद्योग सञ्चालन गर्नु परिरहेको बताएको छ । यसले उत्पादन लागत अत्यधिक बढाएको र उद्योगहरूलाई थप घाटा पु¥याएको सङ्घको दाबी छ । साना उद्योगहरूले डिजेल जेनरेटर सञ्चालन गर्न नसक्ने अवस्था रहेको र उनीहरूलाई उद्योग नै बन्द गर्नुपर्ने बाध्यता परेको सङ्घले जनाएको छ ।
विद्युत् कटौतिको समस्या हरेक वर्ष हिउँदमा आउने गरेको उल्लेख गर्दै सङ्घले यस समस्याको दीर्घकालीन समाधान खोज्न सरकार र प्राधिकरणको ध्यानाकर्षण गराएको छ । “लोडसेडिङको निश्चित समय निर्धारण गरेर बाँकी समयमा गुणस्तरीय विद्युत् आपूर्ति सुनिश्चित गर्नुपर्ने हाम्रो माग छ ।” सङ्घले भनेको छ ।

उद्योगहरूले उपभोग गरेको विद्युत् महशुल नियमित रूपमा तिर्दै आए पनि सोहीअनुसार गुणस्तरीय सेवा प्राप्त गर्न नसकेको भन्दै सङ्घले प्राधिकरणप्रति असन्तुष्टि व्यक्त गरेको छ । सङ्घले विद्युत् आपूर्ति व्यवस्थित गर्न वैकल्पिक व्यवस्था तुरुन्त लागू गर्न माग गरेको छ ।सङ्घले औद्योगिक उत्पादनमा नराम्रो असर परिरहेको वर्तमान अवस्था दीर्घकालसम्म कायम रहेमा उद्योगहरू थप आर्थिक मर्कामा पर्ने र समग्र औद्योगिक विकासमा नकारात्मक प्रभाव पर्ने चेतावनी दिएको छ ।
सरकार र प्राधिकरणले उद्योग क्षेत्रका समस्या बुझेर तत्काल कदम चाल्नुपर्ने सङ्घको जोडदार माग रहेको छ । विज्ञप्तिमा समस्या समाधानका लागि ठोस रणनीति तयार गर्न आग्रह गर्दै औद्योगिक क्षेत्रमा स्थायित्व सुनिश्चित गर्न आवश्यक कार्य योजना अघि सार्न भनिएको छ ।

Leave a Reply