काठमाण्डौ,हत्या र यौन हिंसाको आरोपमा पक्राउ परेका विवादास्पद तपस्वी रामबहादुर बम्जनको घरबाट प्रहरीले झन्डै साढे ३ करोड रुपैयाँ बरामद गरेको छ ।प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले बुधवार पत्रकार सम्मेलन गरेर बम्जनको घरबाट बरामद गरेको रकम तथा सामग्रीसहित उनलाई सार्वजनिक गरेको हो ।बम्जनको घरमा खानतलासी गर्दा ३ करोड ३ लाख नेपाली रुपैयाँ र ३० लाख ९२ हजार रुपैयाँबराबरको १६ देशका विदेशी मुद्रा बरामद गरेको सीआईबीका प्रवक्ता एवम् प्रहरी उपरीक्षक (एसपी) नवराज अधिकारीले जानकारी दिनुभयो । रकमसहित उनको घरबाट बरामद भएको पैसा, मोबाइल, ल्यापटप लगायत पनि प्रहरीले सार्वजनिक गरेको छ । यस्तै महँगा गाडीहरू पनि बरामद भएका छन् ।
बम्जनविरुद्ध आश्रममा बस्ने अनुयायीको हत्या गरेको, बेपत्ता पारेको तथा यौनहिंसा गरेको आरोपमा प्रहरीमा उजुरी परेको छ । जिल्ला अदालत सर्लाहीले २०७६ साल माघ २३ गते पक्राउ पुर्जी जारी गरेयता प्रहरीले बम्जनको खोजी गरिरहेको थियो । तीन युवती र दुई युवालाई बेपत्ता पारेको आरोपमा उनीविरुद्ध विभिन्न प्रहरी कार्यालयमा उजुरी दर्ता भएको छ ।
शुरुमा लामो समय बाराको निजगढस्थित हलखोरियामा रहेको जङ्गलमा बसेका बम्जन पछि सिन्धुलीको कमलामाई नगरपालिका वडा नम्बर ८ मा जङ्गल अतिक्रमण गरी आश्रम बनाएर बस्दै आएका थिए ।बम्जलाई पक्रन प्रहरी टोलीले २०७७ सालको असार ४ गते सिन्धुलीको आश्रममा छापा मारेको भए पनि पक्राउ गर्न सफल भएको थिएन । सीआईबीले बम्जनलाई जिल्ला अदालत सर्लाहीमा उपस्थित गराउने तयारी गरेको छ ।यता पक्राउ परेका रामबहादुर बम्जनलाई भेट्न पूर्वराज्यमन्त्री यशोदा लामा पनि सीआईबी कार्यालयमा पुगेकी छन् ।उनले बम्जनको बारेमा गलत प्रचार गरिएको भन्दै बचाउ गरेकी छन् । बमजनलाई भेट्न बोधी श्रवण धर्म संघको नेतृत्वमा उनका अनुयायीहरु ठूलो संख्यामा सीआईबी कार्यालयमा पुगेका थिए ।यही टोलीमा २०७४ सालमा प्रधानमन्त्री प्रचण्ड नेतृत्वको सरकारमा राज्यमन्त्री बनेकी लामा पनि थिइन् । प्रहरीले बमजनका अनुयायीहरुलाई सीआईबी आसपासबाट हटाएको छ । बमजनका समर्थकहरु सीआईबी कार्यालयमा भेला भएर भीडभाड भएपछि प्रहरीले रोकेको जनाएको छ । अत्यधिक भीडभाड भएपछि उनीहरुलाई प्रहरीले नजिकै रहेको कान्ति साँस्कृतिक केन्द्रको खाली ठाउँमा पठाएको थियो ।
बम्जनको विलाशी जीवन
अनुयायीबाट संकलन गरेको रकमले बम्जनले आलिशान महलमा ऐयासी जीवन बिताउने गरेको प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो ‘सीआईबी’को अनुसन्धानको निष्कर्ष छ ।काठमाडौँको बुढानिलकण्ठ नगरपालिका– ६ स्थित उनी बसेको घरमा सीआईबीको टोली पुग्दा बम्जन रोटी खाँदै थिए । पुस २४ मा साँझ डिएसपी धर्मराज भण्डारी नेतृत्वको टिमले घर घेरा हालेको थाहा पाएपछि उनी चौथो तलाबाट दोस्रो तलामा ओर्लिए । त्यहाँबाट बाहिर हामफालेपछि उनलाई पक्राउ गरिएको एआईजी बज्राचार्यले जानकारी दिनुभयो । ‘अपरेशन ब्लू’ नाम दिएर उनलाई पक्राउ गर्न सीआईबीका २५ जना सुरक्षाकर्मी परिचालित थिए ।ब्लेड वायरको घेरा लगाएको घरभित्र बम्जनले जिमखाना नै खडा गरेको भेटिएको छ । अनुसन्धानमा संलग्न एकजना अधिकृत भन्छन्, ‘त्यहाँ उनी नियमित जिम गर्दा रहेछन् ।’ घरमा टप बाथसहितको नुहाउने ठाउँ र आरामदायी बेडरुम भेटिएको छ ।उनले टोयोटाको फर्चुनर गाडी चढ्ने गरेकाछन् । तुलाराम भण्डारीको नाममा रहेको उनी चढ्ने प्रदेश–३–०१–०२४ च ६७२९ नम्बरको फर्चुनर प्रहरीले बरामद गरेको छ ।बम्जनले नयाँ ल्याण्डक्रुटर जिप अर्डर गरेको एआईजी किरण ब्रज्रचार्यले बताउनुभयो । उहाँले भन्नुभयो, ‘पनित महर्जनको नाममा ५ करोडमा ल्याण्ड क्रुजर जेडएक्स बुक गरेको भेटिएको छ ।’ ल्याण्डक्रुजर खरिद गर्न बम्जनले ३ करोड रुपैयाँ भुक्तानी दिएको पनि बताइएको छ । बम्जनले प्रयोग गर्ने ४ वटा मोटरसाइक प्रहरीले बरामद गरेको छ ।१५ दिनअघि काठमाडौँ आएका बम्जन पाँच दिनअघि परिवार भेट्न हात्तिगौंडा गएका हुन् । त्यसअघि ४ वर्ष भारतस्थित सिक्कीमको जंगल, रामेछाप, मकवानपुर र सिन्धुलीको जंगलमा बसेको उनले अनुसन्धान अधिकृतहरुलाई बताएका छन् । अनुसन्धानमा संलग्न एकजना अधिकृत भन्छन्,‘४ बर्सदेखि नेपाल र भारतको जंगलमा लुकेर बसेको उहाँले बताउनुभएको छ ।’आरोपी बम्जनले १८ वर्षीया आनीबाट यौन सन्तुष्टि प्राप्त गरेको र बाल यौन शोषण गरेको आरोप छ । सो मुद्दा अहिले सर्लाही जिल्ला अदालतमा विचाराधीन छ । जिल्ला अदालत सर्लाहीबाट जारी भएको वारेन्ट पुर्जीको आधारमा उनलाई पक्राउ गरिएको केन्द्रीय अनुसन्धान ब्युरोकी एआईजी किरण बज्राचार्यले बताउनुभएको छ ।२०७६ माघ २४ मा सर्लाही प्रहरीले ७७ जिल्लामा बम्जनको खोजतलास गर्न पत्राचार गरेसँगै देशभरका प्रहरीले उनको खोजी तीव्र बनाउदैआएको थियो । तर, ४ वर्षसम्म प्रहरीको आँखा छल्न सफल भएका उनी मंगलवार पक्राउ परेका हुन । बाराको निजगढ नगरपालिका– १२ बुङ्गजोरका बम्जनको वास्तविक नाम रामलाल बम्जन हो । ३४ वर्षीय बम्जनले ५ कक्षासम्म अध्ययन गरेका छन् ।

Leave a Reply