वीरगञ्जको यो देशको एक महत्वपूर्ण शहर हो । वीरगञ्ज देशकै प्रमुख नाका भएकाले पनि यो शहरको एकदमै महत्व छ ।नेपालीका लागि त वीरगञ्ज शहर सामान्य लाग्दा तर विदेशीका लागि वीरगञ्जले देशकै परिचय दिने भएकाले पनि यसको महत्व छ । तर, यही वीरगञ्ज केही वर्ष अघिसम्म एकदमै कुरुप थियो । वीरगञ्ज बनाउछु भनेर सपना देखेका र वीरगञ्जमा विगतमा समेत कुनै न कुनै हिसावले सक्रिय रहेका राजेशमान सिंह, वीरगञ्जको मेयर बनेपछि भने वीरगञ्जमा केही फरकपन आएको छ ।त्यसो त यसअघिका मेयरले पनि केही सुधारात्मक काम त गरेका थिए तर मेयरमा सिंह आएपछि भने वीरगञ्जमा धेरै परिवर्तन भएको छ र अझै परिवर्तन हुन आवश्यक छ । वीरगञ्जको मुल सडक चौडा गर्ने काम त सडक विभागको होला तर गल्ली गल्ली तथा भित्री सडकहरु अतिक्रमणको चपेटामा परेका छन् । राजनीति स्वार्थ र पहुँचका आधारमा वीरगञ्जको नाली समेत कब्जा गरिएको अवस्था छ ।वीरगञ्जलाई सफा र फराकिलो बनाउनका लागि मेयर सिंहले चालेको कदममा खुट्टा कमाउने काम हुनुभएन । जुनसुकै राजनीतिक दलको भएपनि सडक अतिक्रमण गर्नेका विरुद्धमा मेयर सिंहले कठोर कदम चाल्न आवश्यक छ । नरम भएको खण्डमा वा आफ्नै कार्यकर्ता भएको आधारमा वा अरु कुनै बाहानामा यो अभियानले मुर्त रुप लिन सकेन भने वीरगञ्ज समृद्ध बन्न सक्दैन । अतः मेयर सिंहले यो अभियानलई निरन्तर अगाडि बढाउन आवश्यक छ ।
















