निजगढ,कक्षा कोठामा अध्ययन गरिरहेको अवस्थामा घारे माहुरी पसेर अचानक चिल्न थालेपछि निजगढ नगरपालिका वडा नम्बर ४ स्थित जनकल्याण आधारभूत विद्यालयका २ दर्जनभन्दा बढी विद्यार्थी सोमवार घाइते बनेका छन । माहुरीले विद्यालयका विद्यार्थी, शिक्षक र कर्मचारीसमेत गरी १ सय ५० जनाभन्दा बढीलाई टोकेको र २५ जना विद्यार्थी गंभीर घाइते बनेको विद्यालयका प्रधानाध्यापक मधुसुधन अधिकारीले जानकारी दिनुभयो । घाइते मध्ये अधिकांश विद्यार्थीलाई अभिभावकहरुले उपचारपछि साँझ घर लगेका छन भने गम्भीर घाइते ५ जनाको भने अहिले पनि अस्पतालमा राखेर उपचार हुदै गरेको प्रधानाध्यापक अधिकारीले जानकारी दिनुभयो । घाइते हुनेमा नर्सरी कक्षाका ३ देखि ५ वर्षसम्मका साना बालबालिका सबैभन्दा बढी छन ।

शौच गर्न बाहिर चौरमा निस्किएको बेला नर्सरी कक्षाकी एकजना छात्रालाई मौरीको घारले बिहान करिव ११ बजे टोक्न सुरु गरेको थियो । ती छात्रा रुदै भित्र पसेपछि पिछा गर्दै आएका मौरीले सो कक्षा कोठामा रहेका र अन्य कक्षाका विद्यार्थी र शिक्षकलाई पनि टोकेको हो । कक्षा कोठामा रहेका साना विद्यार्थीलाई बचाउन जाने क्रममा आफूलाई पनि मौरीले टोकेको विद्यालयकी शिक्षिका हेमकुमारी खड्काले बताउनुभयो ।

जंगल छेउमा रहेको सो विद्यालयमा नजिकै रुखमा बसेको मौरी बिच्किएर विद्यार्थीलाई टोकेको हुन सक्ने शिक्षकहरुले बताएका छन । ‘काग वा कुनै पंक्षीले माहुरीको गोलोमा ठुङ्गेको हुुनुपर्छ, प्रधानाध्यापक अधिकारीले भन्नुभयो, पंक्षीलाई लखेटदै आएको माहुरीको बथानले विद्यार्थीमाथि आक्रमण गरेको अनुमान छ ।’ तर कहाँबाट कसरी आयो भन्ने बारेमा अझै यकिन भइनसकेको उहाँले सुनाउनुभयो ।

ठूलो संख्यामा आएका मौरीले विद्यार्थीलाई अचानक टोक्न थालेपछि विद्यालयमा केहीबेर भागदैड मच्चिएको थियो । घरघरबाट आएका अभिभावक र शिक्षकले उद्धार गरेर विद्यार्थीहरुलाई अस्पताल पुर्याएका हुन ।

निजगढ नगरपलिकाका प्रमुख सुरेशकुमार खनाल र उपप्रमुख लिलादेवी लामिछाने खनाल पनि घाइते विद्यार्थीको अवस्था बारे बुझ्न अस्पतालमा पुग्नु भएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here