सिमरा,जीतपुरसिमरा उपमहानगरपालिका वडा नं. ३ को कार्यवाहक वडाध्यक्षको रुपमा माया विकले बुधवार पदबहाली गर्नुभएको छ । सेवाग्राहीसंग घुस लिएको आरोपमा वडा अध्यक्ष ताराबहादुर कार्कीलाई अख्तियार अनुसन्धान आयोगको टोलीले पक्राउ गरेर निलम्बन गरेपछि दलित महिला सदस्य विकले कार्यवहाक वडा अध्यक्षको जिम्मेवारी पाउनुभएको हो । बिकलाई नगर प्रमुख राजन पौडेलले पदबहाली गराउनुभएको थियो ।वडा अध्यक्ष कार्की निलम्बनमा परेपछि आइतवार बसेको वडा समितिको बैठकले विकलाई कार्यवाहक अध्यक्ष बनाउने सर्वसम्मत् निर्णय गरेको थियो । सोही निर्णयअनुसार विकलाई कार्यवाहक अध्यक्षको रुपमा पदबहाली गराइएको हो ।निलम्बमा रहेका वडा अध्यक्ष कार्कीमाथि लागेको आरोपको अन्तिम टुंगो नलाग्दासम्म विकले अब कार्यवाहक अध्यक्षको भूमिकामा रहेर सेवा प्रवाह गर्नुहुनेछ ।अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले पुस २ गते वडा अध्यक्ष कार्कीलाई पाँच लाख नगदसहित जीतपुरबाट नियन्त्रणमा लिएको थियो ।कार्कीमाथि सेवाग्राहीसंग सेवा प्रवाह गरेवापत रकम लिएको आरोप छ । तर कार्कीले भने आफूलाई नियोजितरुपमा फसाएको प्रतिक्रिया दिएका थिए । कार्कीले उक्त रकम मन्दिर निर्माणका लागि लिएको बताएका थिए ।
वडा अध्यक्ष निलम्बनमा परेको अवस्थामा वडाको सेवा प्रवाहका लागि चार जना निर्वाचित वडा सदस्य मध्येबाट कार्यवाहक अध्यक्षको जिम्मेवारी तोक्ने प्रावधान छ । सोही अनुसार चार जना वडा सदस्यले सर्वसम्मत् रुपमा विकलाई कार्यवाहक वडाध्यक्ष बनाउन सहमति जुटाएका थिए ।वडा नम्बर ३ मा विकसहित चिनबहादुर पाख्रिन, अनितादेवी खत्री, देवनारायण चौधरी सदस्यमा निर्वाचित भएका थिए । पदबहालीका क्रममा नेकपा एमालेका नेता अमृतलाल श्रेष्ठ, रमेश खरेल, शुक्र श्रेष्ठ, लक्ष्मी तिमिल्सिना, आरिफ हुसेन, ईश्वर थपलिया, आशिष श्रेष्ठलगायतको उपस्थिति रहेको थियो ।

















