वीरगञ्ज,वीरगञ्जस्थित ठाकुरराम बहुमुखी क्याम्पसमा कर्मचारीहरूले तलब वृद्धिको माग गर्दै क्याम्पसमा तालाबन्दी गरेका छन् ।विगत १५ वर्षदेखि न्यूनतम तलबमा काम गर्दै आएका १० जना कर्मचारीहरूले आफ्नो तलब भत्ता वृद्धिको माग गर्दै आइतवार त्रिवि कर्मचारी सङ्घको अगुवाइमा क्याम्पसमा तालाबन्दी गरेका हुन् ।सङ्घका अध्यक्ष किशोरी चौधरीको नेतृत्वमा कर्मचारीहरूले क्याम्पसको कर्मचारी प्रशासन शाखा, आइटी शाखा, सामान्य प्रशासन तथा स्टोर शाखासँगै क्याम्पस प्रमुखको कार्यकक्षमा समेत तालाबन्दी गरिएको आन्दोलनरत कर्मचारी मनोहर साहले जानकारी दिनुभयो ।क्याम्पसले २०६६ सालदेखि आन्तरिक करारमा नियुक्त गरेका १० जना कर्मचारीहरू विगत १५ वर्षदेखि मासिक १५ हजार रुपैयाँ तलबमा काम गर्दै आइरहेका छन् ।श्रम ऐन अनुसार तलब वृद्धिको माग गर्दै कर्मचारीहरूले गत बुधवार एक घण्टा, गत बिहीवार दुई घण्टा र गत शुक्रवार तीन घण्टा क्याम्पसको काम ठप्प पारेका थिए । पहिलो चरणको आन्दोलनपछि पनि माग सम्बोधनका लागि क्याम्पस प्रशासनले चासो नलिएपछि आइतवार क्याम्पसका विभिन्न शाखामा तालाबन्दी गरिएको त्रिवि कर्मचारी सङ्घका अध्यक्ष चौधरीले बताउनुभयो ।यसअघि कर्मचारीको तलब वृद्धिको माग गर्दै त्रिवि प्रजातन्त्रवादी कर्मचारी सङ्घले ९ महिना पहिले क्याम्पसमा धर्ना सहितको चरणबद्ध आन्दोलन गरेको थियो । आन्दोलनपछि तत्कालीन क्याम्पस प्रमुख उमेश चौरसिया र सङ्घबीच श्रम ऐन अनुसार तलब वृद्धि गर्ने लिखित सहमति भएको थियो । त्यसपछि गत मङ्सिर १८ गते सङ्घले ९ महिना अघिको सहमति लागु गर्न माग गर्दै वर्तमान क्याम्पस प्रमुख रञ्जित यादवलाई ज्ञापन पत्र बुझाएको थियो । यद्यपि क्याम्पस प्रशासन आफैँले सहमति गरेको ९ महिना बितिसक्दा समेत तलब वृद्धि नगरिएपछि बाध्य भएर तालाबन्दी गर्नु परेको सङ्घका अध्यक्ष चौधरीले बताउनुभयो ।न्यूनतम तलबमा काम गरिरहेका कर्मचारीहरूको श्रम ऐन अनुसार तलब वृद्धि नगरिए तालाबन्दी जारी नै रहने र आन्दोलनका अझ सशक्त कार्यक्रम गरिने चेतावनी अध्यक्ष चौधरीले दिनुभएको छ ।
















