कृष्ण मोहन साह
सेढवा,इलाका प्रहरी कार्यालय पटेर्वासुगौलीको टोलीले चार किलो प्रतिबन्धित लागुऔषध गाँजासहित दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा भारत विहार राजस्थानका ४४ वर्षीय कृष्णलाल पाण्डे र जगरनाथपुर वडा नम्बर १ पिडारी निवासी ४२ वर्षीय शम्भु राम रहेका छन् ।प्रहरी निरीक्षक मोहनजंग बुढा थापाको नेतृत्वमा गएको गस्ती टोलीले आइतवार राति १० बजे जिराभवानी गाउँपालिका वडा नम्बर एक महादेवपट्टिस्थित ओरिया खोलाको बाटो हुँदै भारततर्फ जाँदै गरेको आर जे १३ एसओ २१८१ नम्बरको मोटरसाइकललाई चेकजाँच गर्दा उक्त परिमाणको गाँजा बरामद गरेको हो ।प्रहरी निरीक्षक थापाका अनुसार, मोटरसाइकलसहित दुवै जनालाई नियन्त्रणमा लिइएको छ र अनुसन्धान भइरहेको छ ।
इलाका प्रहरी कार्यालय पटेर्वासुगौलीले प्रतिबन्धित लागुऔषध ओसारपसारमा संलग्न व्यक्तिहरूलाई नियन्त्रणमा लिएर थप अनुसन्धान प्रक्रियाअघि बढाएको जनाएको छ ।


















