सिम्रौनगढ,बाराको सिम्रौनगढ नगरपालिका अन्तर्गतका सामुदायिक विद्यालयहरुमा सार्वजनिक बिदाको दिनमा पनि पठनपाठन संचालन हुने भएको छ ।आन्दोलनका कारण लामो समयदेखि बन्द रहेका विद्यालयहरुमा विद्यार्थीको पठनपाठनलाई ध्यानमा राखेर पुस ९ गते परेको क्रिसमस डे र १० गतेको उघौली पर्वको बिदामा पनि विद्यालय खोलेर पठनपाठन गरिने शिक्षकहरुले बताएका छन ।नेपाल शिक्षक संघ नगर कार्यसमिति सिम्रौनगढ बाराका अध्यक्ष उमाशंकर यादवले शिक्षक आन्दोलनका कारण दुई महिनादेखि सामुदायिक विद्यालयमा पठनपाठन ठप्प रहेकोले सार्वजनिक बिदाको दिन समेत पढाइ संचालन गर्न लागिएको जानकारी दिनुभयो ।यसैबीच आन्तरिक विवादका ठप्प रहेका सिम्रौनगढ नगरपालिकाको शैक्षिक र स्वास्थ्य संस्था आइतवारदेखि सुचारु भएका छन् ।आन्दोलनरत शिक्षक,कर्मचारी र नगरकार्यपालिका नगर प्रमुख किशोरीप्रसाद कलवारबीच जिल्ला प्रशासन कार्यालय बारामा शनिवार भएको छलफलमा सहमति जुटेपछि बन्द रहेका स्वास्थ्य र शैक्षिक संस्था संचालनमा आएका हुन् । छलफलमा नगर प्रमुख किशोरी साह कलवारले कर्मचारी, शिक्षकको माग सम्बोधन गर्दैअघि बढ्ने प्रतिवद्धता जनाउनुभएको थियो । नगर प्रमुखको प्रतिवद्धतासंगै लामो समयदेखि आन्दोलनरत कर्मचारी र शिक्षक काममा फर्कन तयार भएका थिए ।छलफलमा आन्दोलनरत पक्ष र नगर प्रमुख कलवारबीच पुस १५ गतेभित्र शिक्षक, कर्मचारीको तलब सुविधा उपलब्ध गराउने सहमति भएको थियो । तलब सुविधा निकासा भएपछि अस्थायी, करार, ज्यालादारी कर्मचारीले राखेका अन्य माग पनि क्रमस सम्बोधन गर्दै जाने विषयमा दुबै पक्ष सहमत भएपछि अन्दोलन फिर्ता लिएर सेवा सुचारु गर्ने निर्णय भएको थियो ।

Leave a Reply