वीरगञ्ज,आयोजक भेट्रान सिटी क्लब वीरगञ्जलाई सडन डेथमा स्तब्ध पार्दै नेपाल पुलिस क्लब “प्रथम वीरगञ्ज गोल्डकप फुटबल प्रतियोगिता – २०८०” को फाइनलमा प्रवेश गरेको छ ।वीरगञ्जको आदर्शनगर रङ्गशालामा बुधवार भएको पहिलो सेमिफाइनल खेलमा पुलिसले आयोजक भेट्रान सिटीलाई टाइब्रेकरको सडन डेथमा पराजित गर्दै फाइनलमा स्थान सुरक्षित गरेको हो ।निर्धारित ९० मिनेट गोलरहित बराबरीमा सकिएपछि खेल टाइब्रेकरमा धकेलिएको थियो । तर टाइब्रेकरमा पनि ३÷३ गोलको बराबरी भएपछि खेल सडन डेथमा पुग्यो । यसअघि ९० मिनेटको खेल निक्कै रोमाञ्चक थियो । दुवै टिमका स्टाइकरहरूले गोल गर्ने पटक–पटक प्रयास गरे पनि गोलरक्षकहरूले उत्कृष्ट बचाउ गर्दै उनीहरूको प्रयासलाई विफल तुल्याएका थिए ।टाइब्रेकरमा पुलिसका लागि उज्ज्वल राई, हेम तामाङ र पृथ्वी चौधरी गोल गर्न सफल भए । कप्तान रामचन्द्र वजे र प्रताप गुरुङको प्रहार भने भेट्रान सिटीका गोलरक्षक राजु नगरकोटीले रोकेर विफल तुल्याइदिए ।
यता भेट्रान सिटीका अबी लामा, सुजल डङ्गोल र राजु नगरकोटीले गोल गरेका थिए । राजन चौधरीको प्रहार पुलिसको गोल पोस्टको बारमाथिबाट बाहिरिएको थियो भने शीर्षस थापाको प्रहारलाई पुलिसका गोलरक्षक सत्रुधन चौधरीले रोकेर गोल हुनबाट जोगाए ।टाइब्रेकर र सडन डेथमा गरी भेट्रान सिटीको तीन वटा प्रहार रोक्न सफल पुलिसका गोलरक्षक सत्रुधन चौधरी प्लेयर अफ दी म्याच घोषित भए । उनले १० हजार रुपैयाँ पुरस्कार प्राप्त गरेका छन् ।

Leave a Reply